बिर्तामोड । बिर्तामोड नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण शिविर सुरु भएको छ । गतवर्षहरुमा जस्तै आजदेखि बिर्तामोड नगरपालिकाले बन्ध्याकरण शिविर सुरु गरेको हो ।
चार दिनसम्म सञ्चालन हुने शिविरमा नगरपालिका क्षेत्रभित्रका सबै वडाबाट सामुदायिक कुकुर समातेर ल्याउने र बन्ध्याकरणसँगै रेबिज विरुद्वको भ्याक्सिन तथा आवश्यकता अनुसार अन्य औषधी उपचार गरेर छोडिने पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिइन् ।
हाम्रो भेटेरिनरी सेवा सहकारी संस्थाको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा यो पटक २५० भन्दा बढी कुकुरको बन्ध्याकरण गरिनेछ ।
शिविर उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडमा हरेक वर्ष शिविर सञ्चालन गर्दै आए पनि कुकुरको प्रकोप बढेकोले धेरै उजुरीहरु आउने गरेको बताउनु भयो ।
सामुदायिक कुकुरले बाहिर बाँधेका बाख्राका पाठा, गाइलाई टोक्ने, मानिसलाई नै आक्रमण गर्ने गरेको र उनीहरुबाट रेबिजसमेत सर्ने भएकोले समस्या समाधानका लागि शिविर प्रभावकारी रहेको धारणा राख्नु भयो ।
बिर्तामोड नगरपालिकाले २०७२ सालदेखि हरेक वर्ष सामुदायिक कुकुर बन्ध्याकरण शिविर सञ्चालन गर्दै आएको छ । हालसम्ममा करिब २ हजार १०० भन्दा बढी कुकुरलाई बन्ध्याकरण गरिएको जनाइएको छ ।
पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख दाहालले छिमेकी पालिकाहरुले पनि हरेक वर्ष अनिवार्यरुपमा शिविर आयोजना गरेमात्रै सामुदायिक कुकुर नियन्त्रण गर्न सकिने बताउनु भयो । शिविरमा २ जना डाक्टरसहित १८ जनाको टिम खटिएको छ ।
शिविर उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डे, कार्यपालिका सदस्य सीता ढुङ्गाना, संगीता सिवा, वडा नम्बर ८ का वडासदस्य अग्निप्रसाद सिटौला, नगरपालिकाका अधिकृत मेघराज बाँस्तोला, हाम्रो भेटेरिनरी सेवा सहकारी संस्थाका अध्यक्ष डा. दिलिप सापकोटा लगायतको उपस्थिति थियो । शिविर पुस ८ गतेसम्म सञ्चालन हुनेछ ।