कमल । झापाको कमल गाँउपालिकास्थित प्रादेशिक आर्युवेद अस्पताल लखनपुरले पाइल्स, फिस्टुला, फिसरजस्ता मलद्वारमा हुने रोगको जाँच तथा उपचार शुरु गरेको छ । सोमबार र मंगलबार आयुर्वेद स्वास्थ्य शिविरसहित सो सेवा शुरु गरेको हो ।
कोशी प्रदेशका प्रमुख सचिव डा. दिपक काफ्लेले सोमबार उद्घाटन गरेको आयुर्वेद स्वास्थ्य शिविरमा ५०० जनाभन्दा बढी विरामीले निःशुल्क जाँच तथा उपचार पाएको जनाइएको छ । क्षारसूत्र विधिबाट पायल्सका विरामीको उपचार पनि शुरु गरिएको अस्पतालका निमित्त निर्देशक डा. सिद्धार्थ ठाकुरले बताए ।
शिविरमा आएका विरामीहरुको निःशुल्क रुपमा सबै प्रकारका जाँच, उपचार र औषधि वितरण गरिएको छ । डा. ठाकुरको नेतृत्वमा डा. रमेश पौड्याल (सर्जन), डा. निर्मल भुसाल (फिजिसियन), डा. मिथिलेस शाह, डा. मिशान्त ढकाल लगायतले जाँच तथा उपचार गरेका कविराज बेदप्रकाश शर्माले जानकारी दिए ।
अस्पतालको स्तरोन्नतिसहित सेवा विस्तारको क्रममा अब नियमित रुपमा पाइल्स, फिस्टुला, फिसरजस्ता समस्याहरुको जाँच तथा उपचार शुरु गरिएको पनि अस्पतालका निमित्त निर्देशक डा. ठाकुरले जनाएका छन् । क्षारसूत्र विधिबाट यस प्रकारको रोगको अब यहाँ सहज र सरल रुपमा उपचार हुन्छ, उनले भनेका छन् ।
५० बेड क्षमताको आयुर्वेद अस्पतालमा इमरजेन्सी लगायतका सेवासमेत शुरु गर्न लागिएको छ । डा. ठाकुर आउनु अघि अस्तब्यस्त र सेवा विहीन अस्पतालले ६ महिनामा फड्को मार्दै गएको जनाइएको छ ।
पञ्चकर्म, भिडियो एक्स–रे, ल्याव सेवा शुरु गरेपछि विरामीको चापसमेत बढेको बताइन्छ । सरकारले तोकेका औषधिहरु विरामीले निःशुल्क पाउँदै आएका छन् । अहिले भने औषधिको केही अभाव खड्किएको छ तर सकेसम्म हामी ब्यवस्थापन गर्दैछौ, ठाकुरले भनेका छन् ।