
पर्वत । नेकपा (एमाले) ले सञ्चालन गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ आज पर्वत आइपुग्ने भएको छ।
बिहान बागलुङको गलकोटबाट सुरु भएको यात्रा बागलुङ सदरमुकाम हुँदै पर्वत आउन लागेको हो। संकल्प यात्रालाई लक्षित गरेर नेकपा एमाले पर्वतले कुश्मा बजारमा जनसभाको तयारी गरेको छ।
जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत केन्द्रीय नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष राजु पौडेलले बताए।
अध्यक्ष पौडेलका अनुसार दिउँसो एक बजे ओली पर्वत र बागलुङको सिमाना मालढुंगामा आइपुग्ने र पर्वतमा स्वागत गर्ने कार्यक्रम छ। त्यसलगत्तै सदरमुकाम कुश्मा बजारमा आयोजना गरिएको आमसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको पौडेलले बताए।
आमसभा सकिएपछि पर्वत र कास्कीको सिमाना नयाँपुलमा पुगेर बिदाइ गरिने छ। संकल्प यात्रामा निस्किएको एमालेको टोली आज पोखरा बस्ने छ।
पर्वतमा आयोजित आमसभाको सबैजसो तयारी पूरा भएको छ। आमसभाअघि कुश्मा बजारका चारवटा स्थानबाट जुलुस प्रदर्शन गरिने छ। फलेवास, विहादी, पैंयु र महाशिलाको बडागाउँचौरदेखि, मोदीको खरेहादेखि, जलजलाको पुरानो बजार र कुश्मा नगरपालिकाको मैत्रीचोकदेखि जुलुस निस्किने र लोकतन्त्र चोकमा पुगेर एकत्रित हुँदै बान्द्रेविडीमा आयोजित सभामा परिणत हुने भएको छ।
जिल्लाका सातवटै गाउँपालिका र एमालेका भ्रातृ संगठनका छुट्टाछुट्टै र्याली, झाँकी, भजन तथा पञ्चेबाजासहितको जुलुस निकालिने र उत्कृष्ट जुलुस प्रदर्शन गर्ने समूहलाई पुरस्कार व्यवस्था समेत गरिएको जिल्ला सचिव गोविन्द पहाडीले बताए।
संकल्प यात्रालाई लक्षित गरी पर्वत र बागलुङको सिमाना मालढुंगादेखि कास्की र पर्वतको सिमाना नयाँ पुलसम्म झकिझकाउ पारिएको छ।