
काठमाडौं । नेपाल सुपर लिग ९एनएसएल० २०२३ मा आज स्पोर्टिङ इलाम एफसी र पोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।
दुवैका लागि यो चौथो खेल हो । नयाँ टोली इलाम ३ खेलबाट ३ अंकसहित छैटौं स्थानमा छ । उसले एक खेल जित्दा दुई खेलमा हार बेहोरेको थियो ।
आजको खेलमा विजयी भए इलाम शीर्ष चारमा उक्लनेछ । पहिलो खेलमै काठमाडौंसँग पराजित भएको इलामले त्यसपछि इस्टर्न डर्बीमा एफसी झापालाई हराएर पहिलो जित निकालेको थियो । तर पछिल्लो खेलमा भने इलाम बुटवल लुम्बिनीसँग पराजित भयो ।
उता अपराजित पोखरा ३ खेलबाट ५ अंक सहित तेस्रो स्थानमा छ । आजको खेल जितेमा पोखरा धनगढीलाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ । पहिलो खेलमा चितवनलाई पराजित गर्दै सुखद सुरुवात गरेको पोखरा त्यसपछि ललितपुर सिटी र झापा एफसीसँग बराबरीमा रोकिएको थियो ।
पोखरा दिनेश राजवंशी र इलाम विकेश कुथुको कप्तानीमा मैदान उत्रनेछ । पोखराको मार्कीमा युवा विंगर आयुष घलान छन भने विकेश नै इलामका मार्की प्लेअर हुन् ।
यससँग जोडिएका तथ्यांक यस प्रकार छन् ।
१. यो खेल यसपल्टको प्रतियोगिताको १५ औं र समग्रमा ४० औं खेल हुनेछ ।
२. इलामले यो प्रतियोगिता पहिलो पल्ट खेलिरहेको हुनाले पोखरासँगका भेट पहिलो हुनेछ ।
३. यस खेलसँगै प्रतियोगिताको चौथो चरण सुरु हुनेछ । सहभागी टिमको संख्या विजोड रहेको हुनाले ललितपुरले एक खेल बढी खेलेको छ ।
४. यस खेलमा विजयी रहेर दुवै टिमसामु अगाडि बढ्ने अवसर हुनेछ । पोखराले यो खेल जितेर अंक तालिकाको शीर्ष स्थान कब्जा गर्न सक्छ । पोखराको तीन खेलबाट पाँच अंक छ र यो शीर्षमा रहेको धनगढीसँग दुई अंकको दूरी हो ।
५. इलामको तीन खेलबाट तीन अंक छ र जितसँगै शीर्ष चारमा उक्लन सक्छ ।
६. अपराजित पोखराले एक जित र दुई बराबरी खेलेको छ । त्यसमा चितवनलाई १–० ले हराएयता ललितपुरसँग गोलरहित र झापासँग १–१ को बराबरी रहेको छ । समग्रमा पोखराले प्रतियोगितामा नौ खेल खेलेको छ । त्यसमा तीन जित, चार बराबरी र दुई हार रहेका छन् ।
७. इलामको यात्रामा एक जित र दुई हार छन् । इलाम आफ्नो पहिलो खेलमा काठमाडौंसँग १–० ले पराजित भएको थियो, त्यसपछि उसले झापालाई १–० ले हराएको थियो । बुटवल–लुम्बिनीविरुद्धको खेल भने २–१ ले गुमाएको थियो ।