बिर्तामोड । ताजा अनलाइन पत्रिका मिडिया हाउस प्रालिद्वारा सञ्चालित ई–खरीपाटी डटकम www.ekharipati.com सञ्चालनमा आएको छ । बुधबारबाट ईखरीपाटीको शुभारम्भ भएको संस्थाका अध्यक्ष विकासजंग कार्कीले जानकारी दिए । यसको मुख्य कार्यालय बिर्तामोड–५ मा रहेको छ ।
‘अनलाइन सञ्चार माध्यममा भिड बढाउन मात्र होइन सशक्त सञ्चार माध्यमको रूपमा खबरदारी गर्न हामी आएका हौँ’ अध्यक्ष कार्कीले भने, ‘हामी सधैँ सत्यको पक्षमा रहनेछौँ । निष्पक्ष पत्रकारिता गर्नेछौँ ।’
ईखरीपाटीको सम्पादकमा शम्भु दाहाल रहेका छन् । उनी एक दशकदेखि झापाली पत्रकारितामा क्रियाशील छन् । साझामञ्च डटकमबाट पत्रकारिता सुरु गरेका दाहलले सो पछि माउन्टेन टेलिभिजन, जनता टेलिभिजन, बिर्ताज्योति साप्ताहिक, जनसंसद दैनिकलगायतमा काम गरेका छन् ।
सम्पादक दाहालले ईखरीपाटी आवाजविहीनको आवाज बन्ने बताए । ‘हामी पत्रकार आचारसंहितामा रहेर सधैँ गलतको खबरदारी गरिरहेने छौँ’ उनले आफ्नो प्रकाशकीयमा लेखेका छन्, ‘हामी आउनुको सार्थकता देखाउने प्रयत्न सधैँ रहनेछ ।’ उनले ईखरीपाटीका प्रश्नहरू कहिल्यै कमजोर नबनाउने बताए ।
‘पत्रकारितालाई हतारको साहित्य भनिन्छ । तर, हतारमा गल्ती गर्ने छुट हामीलाई छैन’ उनले लेखेका छन्, ‘अहिले सूचना प्रविधिको युगमा नागरिक पत्रकारिताले गर्दा बे्रकिङ भन्ने हुँदैन । तसर्थ बे्रकिङको पछि नलागी सत्य, निष्पक्ष र विश्लेषणात्मक सामग्री प्रकाशन गर्नेछौँ ।’