धनगढी । बझाङमा १४किलो गाँजा र गाँजा बनाउन प्रयोग हुने कच्चा पदार्थसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।खप्तड छान्ना गाउँपालिका-७ को गोर्खालीका खड्कबहादुर खड्काको घरमा गाँजाको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले उनीसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा खड्कासहित गोरखाको अजिरकोट गाउँपालिका-२ खरिबोटका ३८ वर्षीय सन्तोष गुरुङ र पर्साको सुकौली पटौली गाउँपालिका-३ का ५५ वषर्ीय राम गुरुङ रहेको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत शाहले जानकारी दिए ।शाहका अनुसार उनीहरुले खड्काको घरमा उद्योग नै खोलेर अवैध रुपमा गाँजाको कारोबार गर्दै आएको खुलेको छ ।
उनीहरुको साथबाट १४ किलो २१० ग्राम गाँजा, गाँजाको दाना र पातसमेत गरेर ७७ किलो ३०५ ग्राम कच्चा पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।गाँजा बनाउने काममा प्रयोग हुने प्लाष्टिकका ५ वटा बाटा, डिजिटल तराजु, कैंचीं, ब्लेड, कार्टुन टेप, रबरका पोका, गाँजा छान्न प्रयोग गरिने कपडा र प्याकिङ गर्न प्रयोग हुने प्लाष्टिकसमेत बरामद गरिएको छ ।उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।