
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान सुरू गरेको छ ।
आज ११ गते बिहान पूर्वी नाका काँकरभिट्टामा जनप्रतिनिधि, कर्मचारी, नगर क्षेत्रका सक्रिय संघ–संस्था, विद्यार्थी, सञ्चारकर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नगर प्रहरी लगायतको उल्लेख्य सहभागीतामा विभिन्न नारा, प्लेकार्डसहित र्याली पश्चात् कोण सभा गरेर नगरपालिकाले अभियानको सुरूवात गरेको हो ।
अभियानको सुरूवात गर्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले कानुनले बर्जित गरेको कुनै पनि कार्य सचेत नागरिकले गर्न नहुने बताए । उनले पछिल्लो समय विभिन्न लैंगिक हिंसाका घटनाहरू बढ्दै गइरहेको बताउँदै त्यसलाई निराकरण गर्न सबै लाग्नुपर्ने बताए ।
अहिलेको समयमा पनि विभिन्न कारणले लैंगिक हिंसा हुने गरेको र त्यसलाई संरक्षण राजनीतिक र प्रतिष्ठित व्यक्तिहरूबाट हुने गरेको बताउँदै उनले यस्तो कार्यमा गलत जोसुकै भए पनि कानुनी दायरामा ल्याउनुपर्ने बताए । उनले नगरपालिका लैंगिक हिंसा विरूद्ध गम्भीर रहेको पनि प्रष्ट पारेका थिए ।
कार्यक्रममा नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले जुनसुकै कारणले भए पनि लैंगिक हिंसा घटाए पनि त्यो कानुनी दायरामा ल्याएर छाड्निे बताइन् ।
उनले मेचीनगर क्षेत्रमा पनि विभिन्न प्रकृतिका लैंगिक हिंसाका घटनाहरू हुने गरेकोले अब त्यसलाई निर्मुल पार्न आफूहरू लागि परिरहेको बताइन् । नगरपालिकाले लैंगिक हिंसा विरूद्ध विभिन्न कार्यक्रमहरू अगाडि बढाइएको नगर उपप्रमुख उप्रेतींको दावी छ ।
वरिस्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले सञ्चालन गरेको कार्यक्रममा मेचीनगर कार्यपालिका सदस्यहरु, वडाध्यक्ष तथा जनप्रतिनिधिहरु, कर्मचारी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नगर प्रहरी लगायतको सहभागिता थियो ।
सोही कार्यक्रममा लैंगिक हिंसा विरूद्ध हस्ताक्षरसमेत संकलन गरिएको मेचीनगर नगरपालिकाका महिला विकास अधिकृत जयन्ती खरेलले बताइन् ।