२०८२ जेठ ५, आइतवार , ०६:१५:५७ बजे

Sajhamanch
'

झापा लिगमा हल्दिबारी विरुद्ध बुद्धशान्तिको ५ गोल

आइतवार, मंसिर १०, २०८०

भद्रपुर । बबिन बोहोराको ४ गोल मद्दतमा बुद्धशान्ति गाउँपालिकाले हल्दिबारी गाउँपालिकालाई ५–० गोल अन्तरले हराउँदै राम्रो अंक बटुलेको छ ।

झापाको भद्रपुरमा जारी ओम साई पाथीभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग कम नकआउट फुटबल प्रतियोगितामा बुद्धशान्तिले शानदार जित दर्ता गरेको हो । अब बुद्धशान्ति आफ्नो समूहमा सशक्त टिम बनेको छ । जारी लिगमा आजसम्म यो नै ठूलो गोल अन्तरको जित हो ।

खेलको २५औँ, ६४औँ, ६९औँ र ७२औँ मिनेटमा बुद्धशान्तिका बबिन बोहोराले हल्दिबारीको पोष्टमा गोल गरे । बबिन जारी प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने । त्यस्तै, खेलको ४५औँ मिनेटमा पारस लिम्बूले अर्को गोल गरे ।

खेलको प्लेयर अफ दि म्याच बुद्धशान्तिका बबिन बोहोरा भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य सरिता प्रसाईं, प्रमुख सल्लाहकार टिकाराज ढकाल, सौजन्यकर्ता लोकबन्धु ढुंगानाले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

आजको दोस्रो खेलमा मेचीनगरले भद्रपुर नगरपालिकालाई १–० गोल अन्तरले हरायो । मेचीनगरको तर्फबाट खेलको दोस्रो मिनेटमा अजय राजवंशीले गोल गरेका थिए ।

खेलको प्लेयर अफ दि म्याच मेचीनगरका सिमान्त थापा भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, मेचीनगरका नगरप्रमुख गोपादचन्द्र बुढाथोकी, उपप्रमुख मिना पोखरेल, सौजन्यकर्ता झापा उद्योग वाणिज्य संघका अध्यक्ष प्रज्ज्वल राईले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको खेलमा जितसँगै बुद्धशान्ति र मेचीनगरले तीन–तीन अंक जोडेका छन् ।