भद्रपुर । झापाको भद्रपुरमा बिहीबारदेखि सुरु भएको ओम साई पाथीभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग कम नकआउट फुटबल प्रतियोगिताको आजको खेलमा भद्रपुर ब्लेजर्स विजयी भएको छ ।
आजै भएको दोस्रो खेलमा कचनकवल गाउँपालिका र बाह्रदशी गाउँपालिकाले अंक बाँडेका छन् ।
भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको पहिलो खेलमा भद्रपुर ब्लेजर्सले कनकाई नगरपालिकालाई २–१ गोल अन्तरले हरायो । भद्रपुर ब्लेजर्सले जारी प्रतियोगितामा स्पष्ट ३ अंक जोडेको छ ।
खेलको १९औँ मिनेटमा भद्रपुर ब्लेजर्सका सनम गुरुङले गोल गरे । त्यस्तै, खेलको ८१औँ मिनेटमा मौसम सुब्बा लिम्बूले अर्को गोल गरे । कनकाईका सलिन कार्कीले ८३औँ मिनेटमा सान्त्वना गोल फर्काए ।
खेलको प्लेयर अफ दि म्याच भद्रपुर ब्लेजर्सका सनम गुरुङ भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, प्रमुख सल्लाहकार टिकाराज ढकाल, झापा उद्योग वाणिज्य संघका अध्यक्ष प्रज्ज्वल राईले नगद दुई हजार र ट्रफी प्रदान गरे ।
आजै भएको दोस्रो खेल कचनकवल र बाह्रदशीबीच गोलरहित बराबरीमा टुंगियो । कचनकवल गाउँपालिका र बाह्रदशी गाउँपालिकाले एक–एक अंक बाँडेका छन् ।
खेलको प्लेयर अफ दि म्याच बाह्रदशीका विजय टुडू भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी र सौजन्यकर्ता मालपोत अधिकृत राजु दाहालले नगद दुई हजार र ट्रफी प्रदान गरे ।