
बुटवल । रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ। रुपन्देहीको ड्राइभरटोलमा आज दिउँसो १२: १५ बजे ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक देवकोटा सहित दुई जनाको मृत्यु भएको हो।
दुर्घटनामा तिलोत्तमा नगरपालिका वडा नं. १ का माधवलाल देवकोटा र तिलोत्तमा–२ जानकी नगरका यादा क्षेत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले जानकारी दिए।
बुटवलबाट भैरहवा तर्फ जाँदै गरेको ना ६ ख ८१६१ नम्बरको ट्रकले सोही दिसा तर्फ जाँदै गरेको लु ४९ प २२३० नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको स्थानीयले बताएका छन्।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुवै जनालाई स्थानीयले तत्कालै नजिकैको क्रिमसन अस्पताल लगेको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए।
विभिन्न सामाजिक तथा पेसागत सङ्घसंस्थामा सक्रिय रहेका देवकोटा सहकारी अभियन्ता हुन्। सहकारी संघका केन्द्रीय सदस्य तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक समेत रहेका देवकोटा रुपन्देहीको तिलोत्तमा बहुउद्देश्यीय सहकारीका अध्यक्ष हुन्।
तिलोत्तमा उद्योग वाणिज्य संघका सल्लाहकार समेत रहेका देवकोटा संघले मणिग्राममा आयोजना गरेको राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलामा जाँदै गर्दा दुर्घटनामा परेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए।