२०८१ माघ १३, आइतवार , ०५:०५:०० बजे

Sajhamanch
'

धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस आज

शनिवार, कार्तिक २५, २०८०

काठमाण्डौ। आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदैछ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा यो दिवस मनाइने गरिन्छ ।देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाइ समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कात्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान धन्वन्तरीको उत्पत्ति भएको चर्चा हिन्दु ग्रन्थमा गरिएको छ ।आजको दिनलाई आयुर्वेदका डाक्टरहरुले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् । काठमाण्डौ नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको हो।

विसं २०२९ देखि त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत आङ्गिक क्याम्पसका रुपमा आयुर्वेद क्याम्पस सञ्चालनमा रहेको छ । आयुर्वेद क्याम्पस अहिले कीर्तिपुरमा सरेको छ । आयुर्वेद क्षेत्रका व्यक्तिहरुको पहलमा विसं २०५६ सालदेखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्यता दिवसका रुपमा पनि मनाउन थालिएको हो । धन्वन्तरी जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाङ, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालहरुमा समेत विविध कार्यक्रम हुँदैछन् ।

सम्बन्धित खबर