भरतपुर । चितवनमा उत्पादित सयपत्री र मखमली फूल हङकङ निर्यात गरिएको छ । कालिका नगरपालिका–२ पदमपुरका तीनजना दाजुभाइले उत्पादन गरेको एक हजार तीन सय माला र दुई क्विन्टल खुद्रा फूल बिहीबार हङकङ पठाइएको हो ।
तिहारका लागि नेपालबाट पहिलो पटक सयपत्री फूल निर्यात गरिएको किसान गोविन्द बास्तोलाले जानकारी दिए । “आठ सयवटा सयपत्री र पाँच सयवटा मखमली फूलका माला पठाएका छौँ । मालाबाहेक सयपत्री फूलको थुंगासमेत दुई क्विन्टल निर्यात गरेका छौँ”, बास्तोलाले भने, “चितवनबाट व्यावसायिक रुपमा फूल विदेश निर्यात भएको पहिलोपटक हो ।” उनका अनुसार तीन लाख बराबरको माला निर्यात भएको छ ।
उनले अन्य देशबाट पनि सयपत्री फूलको माग आएको बताए । “अहिले हङकङ निर्यात गरेका छौँ”, उनले भने, “विस्तारै अन्य देशमा पनि सयपत्री फूल र माला निर्यात गर्नेछौँ ।”
विगतका वर्षमा ४१ जिल्लामा सयपत्री फूल बिक्री गर्दै आएकोमा हाल विदेशमा पठाएको किसान अमित बास्तोलाले बताए । “हामीले गत वर्षदेखि बाह्र महिना नै फूल खेती गर्छौं । माघमा उत्पादन हुने गरी १० कठ्ठामा लगाएका छौँ”, उनले भने, “चितवनमा फूल खेतीको सम्भावना राम्रो छ ।”
तीन भाइले तिहार लक्षित सयपत्री फूल तीन बिघामा खेती गरेका छन् । फूल खेतीबाट यसवर्ष बाह्र हजार माला र आठ क्विन्टल फूलको थुंगा उत्पादन हुने उनीहरुको अनुमान छ । यसबाट रु १५ लाख आम्दानी हुने अमितले बताए । बजार भए भने अन्य बालीभन्दा फूलखेतीबाट राम्रो आम्दानी हुने उनको भनाइ छ । “अन्य खेतीमा उत्पादन र लागत एउटै हुन आउँछ”, उनले भने, “फूल खेतीमा ५० प्रतिशत नाफा हुन्छ ।”
उनीहरुले फूल खेती सुरु गरेको चार वर्ष भयो । कोरोना माहामारीपछि फूल खेती सुरु गरेका तीन दाजुभाइले जग्गा भाडामा लिएर खेती गरेका हुन् ।
भारतको कलकत्तादेखि रु एक लाख बराबरको बीउ ल्याएर तीन बिघामा खेती सुरु गरेका उनीहरुले सयपत्रीका दुई जात टेनिसबल र कलकतीया फूल हङकङ निर्यात गरेका हुन् । कात्तिक २४ गते राति काठमाडौंबाट जहाजमार्फत हङकङ लगिने सप्लायर्स कमल सुवेदीले जानकारी दिए । हङकङमा बस्ने नेपाली समुदायबाट सयपत्री फूलको माग आएकाले लैजान लागिएको उनले बताए ।
“म विदेशमा च्याउ निर्यात गर्दै आएको छु । सो क्रममा तिहारमा दिदीबहिनीले सयपत्री फूलको माग गरेको हुँदा लैजान लागेको हुँ”, उनले भने, “तिहारमा नेपाली समुदाय भएको क्षेत्र सिंगापुर, मलेसिया, दुबई र कतारबाट समेत सयपत्री फूल र मालाको माग आएको छ ।”
फूल निर्यात गर्दा खासै फाइदा नहुने भए पनि किसानको प्रोत्साहन गर्नका लागि निर्यात गरिएको उनको भनाइ छ । यहाँबाट आइसबक्समा ‘प्रिकुलिङ’ गरेर जहाजमार्फत फूल विदेश पठाउने उनले बताए ।
चितवनमा यसवर्ष तिहारको समयमा फूल खेती गर्ने किसान बढेका छन् । कालिका नगरपालिकाले किसानको प्रोत्साहनका लागि बिरुवामा अनुदान समेत दिएको नगरप्रमुख विनोद रेग्मीले जानकारी दिए ।
चितवनमा ५० बिघामा फूलखेती भएको छ । चितवनमा तिहारका लागि फूल खेती गर्ने करिब एक सयजनाको हाराहारीमा किसान छन् ।