२०८१ पौष १८, बिहिवार , ०६:५७:३० बजे

Sajhamanch
'

कोटीहवनमा विश्व–शान्ति विराट महायज्ञ महाअनुष्ठान सुरु

बिहिवार, कार्तिक २३, २०८०

कनकाई । झापाको कनकाई—४ कोटीहोम धार्मिक क्षेत्र आसपासको कनकाई नदी पूर्वी किनारमा विश्व कल्याण एवं संकट निवारणको उद्देश्यका साथ आजबाट विश्व–शान्ति विराट महायज्ञ महाअनुष्ठान सुरु भएको छ ।

विश्वका विभिन्न मुलुकमा भइरहेका हिंसात्मक घटना अन्त्यका साथै हालै गएको भूकम्पमा परि नेपालको जाजरकोट लगायत जिल्लामा ज्यान गुमाएकाहरुको आत्माशान्तिको कामना गर्दै ॐआदि फाउन्डेसनले तीन दिने महायज्ञ महाअनुष्ठान प्रारम्भ गरेको हो ।

यसका लागि माईखोलाको किनारमा स्वस्तिक आकृतिको यज्ञकुण्डसहितका संरचना तयार पारिएको छ । यो वर्ष देशका १८ स्थानमा महाअनुष्ठान गर्ने योजना अनुसार १७औं महाअनुष्ठानका रुपमा कनकाईलाई अवसर प्राप्त भएको ॐआदि फाउन्डेसनका अध्यक्ष डा. उपेन्द्र महतोले जानकारी दिए ।

महायज्ञमा बाल ब्रह्मज्ञानी गुरु आदि चन्द्र योगीसहितका साधकहरुले विभिन्न साधनात्मक विधि प्रक्रियाहरुका साथ अखण्ड यज्ञाहुति गर्नेछन् ।

ॐआदि फाउण्डेशनको आयोजनामा कातिक २३, २४ र २५ गते तीन दिनसम्म संचालन हुने महाअनुष्ठानमा नेपालका विशिष्ट व्यक्तिहरूको समेत सहभागिता रहने बताइएको छ । प्राकृतिक रुपमा उर्जाशिल रहेको कनकाई धाम परिसरमा इतिहास कै अनौठो र अद्भूत अद्वितीय शक्ति प्राप्त हुन सक्ने विश्वासका साथ महायज्ञ संचालन हुनु कनकाई नगरबासीका लागि गौरबको विषय भएको स्थानीयको भनाई छ ।

महायज्ञबाट प्राप्त उर्जालाई कनकाई धाम परिसरमा नै उचित व्यवस्थापन गरी यो क्षेत्रलाई दिव्य धामका रुपमा विकास एवं विस्तार गरिने कार्यक्रम संयोजक एवं आयोजक संस्था ॐआदि फाउन्डेसनका सल्लाहकार लक्ष्मीप्रसाद प्रसाईले जानकारी दिए ।

महाअनुष्ठान कनकाई माईको किनारमा सुरु भएसँगै यहाँस्थित कोटीहोम क्षेत्रमा चहलपहल निकै बढेको छ । आयोजकका अनुसार महाअनुष्ठानमा १०८ कुण्डीय यान्त्रिक, तान्त्रिक एवं मान्त्रिक हवनसमेत गरिने छ । अग्नि एवं जलकुण्डका रूपमा लिइएको सो हवनमा दुर्गा सप्तसती चण्डी पाठ र चार वेद अखण्ड पाठ पारायण (चारै दिशा) गरिने भएको छ ।

फाउन्डेसनका प्रवक्तासमेत रहेका डा. राजु अधिकारीका अनुसार तीन दिनसम्म दिव्य शिवलिंग एवं हिमालय प्रतिस्थापन, पृथ्वीयन्त्र, नवरत्न नागमणि, महाकाली स्थापना, ओमकार यन्त्र प्रतिस्थापन, चित्ताअग्नि साधना र १००८ शिवलिंग प्रतिष्ठा एवं विधिवत् अनुष्ठान गरिने छ ।

अरूले समुन्द्रमा महल बनाए पनि औलोकिक धाम पवित्र कनकाई नदीको कोटीहोम परिसरलाई दिव्यधामका रुपमा विकास गर्ने गुरु आदिचन्द्र योगीको परिकल्पना रहेको बताइएको छ ।

दिव्य धामका परिकल्पनाकार आदिचन्द्र योगीले ऋषिभूमि र यज्ञभूमि नेपाललाई विश्वभर चिनाउने अलौकिक गन्तव्य बनाउने संकल्पका साथ कनकाई नदीको किनारमा महाअनुष्ठान संचालन गरिएको बताइएको छ ।

सम्बन्धित खबर