२०८१ पौष १९, शुक्रवार , ०६:४७:१९ बजे

Sajhamanch
'

भद्रपुरमा ६५औं पटक कालीपूजाको तयारी भब्य

बिहिवार, कार्तिक २३, २०८०

भद्रपुर । नेपालीको महान चाड तिहार नजिकिँदै गर्दा झापाको सदरमुकाम रहेको भद्रपुरमा दशकौंदेखि आयोजना हुँदै आएको कालीपूजाको भव्य तयारी गरिएको छ । भद्रपुर वडा नं ५ र ६ को संगमस्थल सिकन्दर मार्केटमा ६ दशकअघि सुरु गरिएको कालीपूजा यो वर्षका लागि तयारी तीव्र बनाइएको हो ।

यसवर्ष फरक र थप आकर्षक ढंगले पूजाको तयारी गरिएको सार्वजनिक कालीपूजा आयोजक समितिले जनाएको छ । समितिले यसवर्ष आकर्षक पण्डाल निर्माण गरेको छ भने पूजास्थल वरिपरि झण्डै एक किलोमिटरसम्म आकर्षक लाइटिङको व्यवस्था गरिएको समितिका सदस्य मानष घोषले जानकारी दिए ।

धरहरा स्वरुपमा निर्माण गरिएको पण्डाल नेपालमै पहिलो भएको सदस्य सञ्जय घोषले बताए । धरहराको बाहिर–भित्र आकर्षक लाइटिङको व्यवस्था गरिने उनले बताए । ६५ वर्षअघि कालीपूजा गर्न थालिएको सिकन्दर मार्केटमा अहिले युवाहरुले सो पूजालाई निरन्तरता दिएको समितिका संयोजक देवु पकुवालले बताए ।

लक्ष्मीपूजाको दिन आइतबार विधिपूर्वक पूजाआजा गरी सुरु हुने कालीपूजा अन्तर्गत गोवद्र्धन पूजाको दिन मंगलबार बेलुकी विशेष समाारेह गरिने समितिका सदस्य मानष घोषले जानकारी दिए । सो दिन भारतको चर्चित सांगीतिक व्याण्ड डाइनामिक म्यूजिकको आकर्षक प्रस्तुति रहने छ भने सेक्सोफोन संगीतका कलाकारले पनि प्रस्तुति दिने उनले बताए ।

कालीपूजा सम्पन्न गर्न करिब पाँच लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताउँदै समितिका सदस्य किरण साहले त्यसका लागि भद्रपुर नगरपालिका, वडा कार्यालयहरु, उद्योगी–व्यवसायी तथा दानवीर दाताहरुबाट सहयोग जुटाइने जानकारी दिए ।

विगतमा भद्रपुरमा लाग्ने यो पूजामा छिमेकी सीमावर्ती भारतीय श्रद्धालुहरुको पनि व्यापक सहभागिता हुँदै आएकोमा यसवर्ष पनि उनीहरुको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको समितिका सदस्य राजेश पकुवालले जानकारी दिए ।