२०८२ असार १६, सोमवार , १२:०३:५१ बजे

Sajhamanch
'

जाजरकोट भूकम्प : तीन हजार ७७० घरमा क्षति

आइतवार, कार्तिक १९, २०८०

काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पले तीन हजार ७७० भन्दा बढी घरमा क्षति गरेको छ ।

गृह मन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार भूकम्पले जाजरकोट, रुकुम पूर्व, सल्यान, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, प्युठान लगायतका जिल्लाका घरमा क्षति गरेको हो ।

भूकम्पले ९३२ घरमा पूर्ण र दुई हजार ८३८ घरमा आंशिक क्षति गरेको छ । भूकम्पले रुकुम पश्चिम जिल्लामा पनि ठूलो क्षति गरेको भए पनि त्यहाँ के कति घरमा क्षति गरेको छ त्यसको विवरण यहाँ जोडिएको छैन ।

रुकुम पश्चिममा क्षति भएका घरको विवरण संकलन गर्ने कार्य भइरहेको शाखाले जनाएको छ ।

शाखाका अनुसार जाजरकोटमा दुई हजार ६८५ घरमा आंशिक र ९०५ घरमा पूर्ण क्षति गरेको छ । भूकम्पले रुकुम पूर्वको १९, सल्यानको ९७, दाङको ६, प्युठानको २९ र नवलपरासी पूर्व र दैलेखका एकरएक घरमा आंक्षिक क्षति गरेको छ ।

यस्तै, भूकम्पले सल्यानको २५, दैलेखको एक र बैतडीको एक घरमा पूर्ण क्षति गरेको छ ।

१५७ जनाको मृत्यु, २५६ जना घाइते
शाखाको विवरणअनुसार हालसम्म भूकम्पपछि संरचना भत्किँदा १५७ जनाको मृत्यु भएको छ भने २५६ जना घाइते भएका छन् ।

भूकम्पका कारण जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।

भूकम्पले संरचना भत्काउँदा जाजरकोटमा ११२, रुकुम पश्चिममा १३२, सल्यानमा दुई, रोल्पामा एक, दैलेखमा तीन, बैतडीमा तीन र जुम्लामा तीनजना घाइते भएका छन् ।

खोज तथा उद्धार
भूकम्पपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा एक हजार ५६० जना सुरक्षाकर्मी परिचालन गरिएको शाखाले जनाएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा सशस्त्र प्रहरी वलका ४८५, नेपाल प्रहरीका ८७४ र नेपाली सेनाका २०२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । सबै सुरक्षाकर्मी जाजरकोट र रुकुम पश्चिममा परिचालन गरिएको छ ।

राहत सामाग्री वितरण
विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा केही राहत सामाग्री वितरण गरिएको छ ।

हालसम्म जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा ६०० थान त्रिपाल, १०० थान स्लिपिङ ब्याग र २०० थान ब्ल्याङ्केट वितरण गरिएको छ ।

जाजरकोटमा त्रिपाल ५०० थान, ५० थान स्लिपिङ ब्याग र १०० थान ब्ल्याङ्केट पीडितहरूलाई प्रदान गरिएको छ ।

यस्तै, रुकुम पश्चिममा १०० थान त्रिपाल, ५० थान स्लिपिङ ब्याग र १०० थान ब्ल्याङ्केट वितरण गरिएको छ ।

मेडिकल टिम
भूकम्प प्रभावित विभिन्न क्षेत्रमा २२ जनाको मेडिकल टिम पठाइएको शाखाले जनाउको छ ।

सशस्त्र प्रहरी बल नेपालको आठजना, नेपाली सेनाको तीनजना, वीर अस्पतालबाट सातजना र रुकुम पूर्वबाट चारजनाको टोली भूकम्प प्रभावित क्षेत्रमा खटिएका छन् ।

आइतवार, कार्तिक १९, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर