२०८१ पौष ८, सोमवार , ०९:१९:३२ बजे

Sajhamanch
'

अदालतको परमादेशपछि रिगलले गरे बाँके प्रहरीमा आत्मसमर्पण

बिहिवार, कार्तिक १६, २०८०

बाँके । सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएका योगराज ढकाल (रिगल) ले बाँके प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

बिहीबार रिगल जिल्ला प्रहरी कार्यलय बाँके पुगेर प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन्।

संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्दै सर्वोच्च अदालतले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको थियो।

सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतनकी श्रीमती भारतीले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

घटना यस्तो थियो…

रिगल ढकालसहित १५ जनाको समूहले २०७२ साल असार २८ गते नेपालगन्जको सुर्खेत रोडस्थित धम्बोझी चोकनजिक बस्ने २९ वर्षीय चेतन मानन्धरको खुँडा प्रहार गरी हत्या गरेका थिए। हत्याको एक महिनापछि २०७२ भदौ ७ गते ढकालले अदालतमा आत्मसमर्पण गरेका थिए। त्यसबेला ढकाल नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दल बाँके क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापतिसमेत थिए।

मानन्धरको हत्यामा संलग्नहरूलाई कर्तव्य ज्यान मुद्दा चलाइएको थियो। बाँके जिल्ला अदालतले हत्यामा संलग्न १३ जनामध्ये ढकाल, प्रेमध्वज खत्री (प्रशान्त गौतम भनिने), छविलाल बस्नेत (विशाल), मोहनलाल खड्का (नवराज खत्री भनिने) लाई सर्वस्वसहित जन्मकैद फैसला सुनाएको थियो।

२०७५ वैशाखमा जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलासले हत्यामा संलग्न भनिएका ९ जनालाई भने ३ देखि १० वर्षसम्मको कैद सजाय सुनाएको थियो।

सर्वस्वसहित जन्मकैदमा कानुनअनुसार २० वर्षसम्म कैद बस्नुपर्छ। मुलुकी ऐन अर्थात् नयाँ फौजदारी संहिता नआउँदै जन्मकैदको अवधि २० वर्ष तोकिएको थियो।

मन्त्रिपरिषद्को भदौ २९ गते बसेको बैठकले फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन, २०७४ को दफा ३७, कारागार नियमावली २०२० को साबिकको नियम १ र १ (क), सर्वोच्च अदालतको फैसला, ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ मा टेकेर ढकालको कैद कट्टा गरी सजाय माफी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको थियो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कर्तव्य ज्यान मुद्दामा जेलमा रहेका तर समय नपुगेका ढकालसहित ६७० जना कैदीबन्दीलाई कैदमा माफी मिनाहा दिएका थिए।

मुलुकी संहितामा ५० प्रतिशत कैद भुक्तान गरेकाको मात्र कैद कट्टा हुन सक्ने व्यवस्था छ। तर ढकालले कैद कट्टा पाउने समयसम्म कैद बस्नु परेन। उनले ५० प्रतिशत कैद भुक्तान गर्न १० वर्ष जेल बस्नुपर्ने थियो। कैद कट्टाका लागि ढकाल कम्तीमा २०८२ भदौ ७ सम्म जेल बस्नुपथ्र्यो। तर उनी ८ वर्ष केही महिना कैद सजाय भोगेपछि माफी पाएर छुटेका छन्।

सम्बन्धित खबर