ताप्लेजुङ । मंगलबार एकै दिन ८ हजार ५ सय बढीले ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक पाथीभरा मन्दिरको दर्शन गरेका छन्।
यो संख्या चालू आर्थिक वर्ष सुरु भएपछि एकै दिन दर्शन गर्ने मध्येको सबैभन्दा धेरै रहेको पाथीभरा मन्दिर क्षेत्रका कर्मचारी राजेन्द्र महतले जानकारी दिए।
उनका अनुसार दसैँको नवरात्र देखि दसैँ अवधि भरमा एकै दिन ६ हजार ६ सय जनाले मन्दिरको दर्शन गरेको अभिलेख थियो। मंगलबार त्यो संख्याको रेकर्ड ब्रेक भएको छ।
दर्शनार्थी बढी भएपछि केही समय मन्दिर दर्शनको लाइन व्यवस्थापन समेत हम्मे परेको उनले सुनाए। ‘तर बिना झञ्झट दर्शनार्थीहरुले मन्दिरमा पूजाआजा सकेर फर्कन थाल्नु भएको छ’ महतले भने।
उनले पाथीभरा क्षेत्र विकास समिति र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिको अगुवाइ र समन्वयमा मन्दिर दर्शन प्रक्रिया सहज बनाउन सहयोगीहरुले भूमिका खेलिरहेको बताए।
दर्शनार्थीलाई कुनै समस्या भए मन्दिरका कर्मचारीसँग सम्पर्क गर्न भनिएको र दर्शनार्थीका समस्याहरू आफूले सुनेर समाधान गरिदिने गरेको समेत उनले जनाए।
दसैँको अवधि घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्ममा २५ हजार ३ सय ६८ जनाले पाथीभराको दर्शन गरेको तथ्याङ्क यसअघि पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको थियो।
दसैँ र तिहारको मौसमलाई पाथीभरा दर्शन गर्ने मुख्य सिजन मानिन्छ। यसबर्ष भने दसैँपछि भने दर्शनार्थी बढ्न थालेका छन्। पाथीभरा दर्शन गर्न मौसम अनुकूल रहेको, सडक समेतमा मर्मत सम्भार र स्तरोन्नतिको कार्य चलिरहेको र आउँदा जाँदा समस्या समेत कम हुन थालेपछि तीर्थालु थपिन थालेका छन्।
यसअघि नवरात्रको समयमा तीर्थालु बढी हुने भएपनि दसैँ पछि मौसम पूर्ण रुपमा खुलेको मौकाको फाइदा उठाउँदै पाथीभरामा भक्तजनहरुको घुँईचो लाग्न थालेको छ।