२०८२ असार २०, शुक्रवार , ०५:०४:५४ बजे

Sajhamanch
'

गोली हानेर रूपेश सर्राफको हत्या गर्ने एकजना पक्राउ, जोडियो ६० किलो सुन तस्करी प्रकरण

सोमवार, कार्तिक १३, २०८०

काठमाडौं । बारामा गोली हानेर रूपेश सर्राफको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ परेका आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छैन ।

बारा कलैया उपमहानगरपालिका–६ का रूपेशमाथि सोमबार दिउँसो १ बजे कलैया बजारमै गोली प्रहार भएको थियो । तीनवटा गोली लागेर घाइते भएका उनलाई अस्पताल पुर्‍याएलगत्तै डाक्टरले मृत घोषणा गरेको मधेस प्रहरी प्रमुख डीआईजी जनक भट्टराईले जानकारी दिए ।

प्रहरीका अनुसार उनीमाथि पाँचवटा गोली प्रहार भएको थियो । रूपेश कलैयाकै बाल एकता बोर्डिङ स्कुलका शिक्षकसमेत रहेको खुलेको छ ।

उनीमाथि दुईवटा मोटरसाइकलमा आएको समूहले गोली प्रहार गरेको प्रहरी बताउँछ ।

सुन प्रकरण हत्याको कारण हुन सक्ने प्रहरीको आशंका

रूपेशको हत्यालगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पनि घटनाबारे चासो राखेको छ । हत्या गरिएका रूपेश ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका बाराकै सुनचाँदी व्यवसायी संघका अध्यक्ष शिवकुमार सर्राफका आफन्त हुन् ।

बारा प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले घटनाबारे विभिन्न कोणबाट अनुसन्धान थालिएको जानकारी दिए ।

हामीले विभिन्न कोणबाट अनुसन्धान थालेका छौँ । एकजनालाई नियन्त्रणमा समेत लिएका छौँ । सुनसँग जोडिएको कुरा पनि आएको छ । हामी त्यो बारेमा पनि अनुसन्धान गर्छौं, काफ्लेले भने ।

सोमवार, कार्तिक १३, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर