
काठमाडौं । त्रिकोणात्मक टी-२०आई शृङ्खलाको फाइनल खेल टी(यू क्रिकेट मैदानमा जारी छ ।
टस हारेको नेपाले अहिले यूएईविरुद्ध ब्याटिङ गरिरहेको छ । टी-यू मैदानमा फाइनल खेल हेर्ने दर्शकको उत्साहजनक सहभागिता छ ।
दशैं बिदापछि फाइनल खेल भएकोले दर्शकको क्रेज देखिएको हो । आज सरकारी कार्यालय खुले पनि विद्यालयहरू सञ्चालनमा आइनसकेकोले दर्शकको संख्या उल्लेख्य रहेको छ ।
आजको खेलमा नेपालले राम्रो सुरुआत गरे पनि पछिल्लो क्रममा ब्याटरहरू सस्तैमा गुमाएको छ ।
यसअघिका सबै चार खेल जितेर नेपाल शृङ्खलाको फाइनलमा पुगेको हो । यूएई भने नेपालसँगको दुवै खेलमा पराजित भएको थियो । तर, हङकङसँग समान अंक भए पनि नेट रनरेटमा अगाडि रहेर फाइनल पुगेको हो ।
टी–२० आई हेड टू हेडमा नेपाल यूएईभन्दा अगाडि रहेको छ । नेपाल र यूएईबीच अहिलेसम्म कुल ७ खेल भएका छन् । जसमा नेपालले ४ खेल जित्दा यूएई तीन खेलमा विजयी भएको छ ।