
काठमाडौं । चीनको हाङझावमा जारी चौथो एसियाली पारा खेलकुदअन्तर्गत टेबलटेनिसमा नेपाली खेलाडी पराजित भएका छन् । २ पुरुष र १ महिला गरी ३ खेलाडीले आइतबार प्रतिस्पर्धा गरेकामा तीनैजना समान ३–० को नतिजामा चीनका खेलाडीसँग पराजित भए ।
जीएसपी जिम्न्याजियममा भएको पुरुष सिंगल्स क्लास ४ को समूह ‘एफ’ को खेलमा चिङयुवान गुओले नेपालका डिगमसिंह चेम्जोङलाई ११–७, ११–५ र ११–३ को सोझो सेटमा पराजित गरे ।
पुरुष सिंगल्स क्लास ३ को समूह ‘सी’ मा चिङ झाइले नेपालका केशव थापालाई सीधा सेटमा ११–८, ११–८ र ११–४ ले हराए ।
महिला सिंगल्स क्लास ४ को समूह ‘डी’ मा चियाडन गुले नेपालकी लाली तामाङलाई ११–३, ११–४ र ११–५ को सोझो सेटमा पन्छाइन् ।
नेपाली खेलाडीले शुक्रबार विभिन्न ४ खेलमा प्रतिस्पर्धा गर्ने छन् । आर्चरी, ब्याडमिन्टन, पावर लिफ्टिङ र टेबलटेनिसमा प्रतिस्पर्धा गर्ने छ ।
चौथो एसियाली पारा खेलकुदमा नेपालले १० खेलमा सहभागिता जनाएको छ र १९ खेलाडी प्रतिस्पर्धामा छन् ।
प्रतियोगिताको भव्य उद्घाटन समारोह आइतबार हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा सम्पन्न भएको थियो ।