भद्रपुर । भद्रपुर कला साहित्य तथा संगीत प्रतिष्ठानको आयोजनामा चन्द्रगढीमा एक दिवसीय बृहत कविता गोष्ठी सम्पन्न भएको छ ।
प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहालको अध्यक्षतामा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा कोशी प्रदेशका अग्रज कविहरूको सहभागितामा गोष्ठी सम्पन्न गरिएको हो ।
गोष्ठीमा भद्रपुर नगरपालिका भित्र रहेका १० वटै वडाबाट छानिएर आएका बाल कविहरूले प्रतिष्पर्धात्मक कविता वाचन गरेका थिए । यस्तै भद्रपुर नगरका, जिल्लाका र बाहिरी जिल्लाका दुई दर्जनभन्दा बढी कविहरूले मन छुने कविता प्रस्तुत गरेका थिए ।
देश दुखेको, सिमाना मिचिएको, परदेशिनु परेको पीडा, मातृत्व भावको खोजी, पिताको दायित्व र राजनीतिको विकृति माथिको प्रहार जस्ता पक्षलाई शसक्त भाव बनाएर कविता प्रस्तुत गरिएको थियो ।
गोष्ठीमा प्राज्ञ सभा सदस्य सुभद्रा भट्टाई अर्याल, मुनाराज शेर्मा लगायत झापा तथा कोशी प्रदेशका स्थापित कविहरूले आ-आफ्ना कविता प्र्रस्तुत गरेका थिए ।
कार्यक्रममा झर्रोवादका संस्थापक सदस्य एवम् भाषासेवी चूडामणि रेग्मीलाई अभिनन्दन गरिएको थियो । सो कार्यक्रममा आमन्त्रित पाहुना तथा सहभागीहरुलाई प्रतिष्ठानका कोषाध्यक्ष धनमाया खरेलले शाब्दिक स्वागत गरेकी थिइन् भने गीत मार्फत डा. कुमार सुवेदी, निरज पोखरेल र पवित्रा ओलीले गरेका थिए ।
कार्यक्रमको सञ्चालन उपाध्यक्ष खगेन्द्रा खुसी र सचिव डिल्लीरमण नेपालले गरेका थिए ।