झापा । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको चौथो वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा बिर्तामोड वडा नम्बर ५ फाइनल प्रवेश गरेको छ ।
बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा भइरहेको प्रतियोगिताको आज भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ४ लाई २–१ गोल अन्तरले पराजित गर्दै वडा नं. ५ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
फाइनल प्रवेश गरेसँगै बिर्तामोड–५ ले कम्तिमा नगद ५० हजार सुरक्षित गरेको छ । भोलि मंगलबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग बिर्तामोड–५ ले कात्तिक २ गते उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
आजको खेलमा बिर्तामोड–५ लाई जित दिलाउन साजन विक र रोशन बोहोराले एक–एक गरे । टिमका लागि दोस्रो हाफको ७ मिनेटमा सजन विकले पहिलो गोल गरे । एक शून्य गोल अन्तरको अग्रता कायम गरेको बिर्तामोड–५ का लागि खेलको दोस्रो हाफको २६औं मिनेटमा रोशन बोहोराले थप एक गोल गर्दै दुई शून्यको अग्रता बनाएका हुन् ।
बिर्तामोड–४ ले भने पेनाल्टीको मद्धतमा एक गोल गरेको थियो । दोस्रो हाफको इन्जुरी टाइममा पाएको पेनाल्टी प्रहारको सदुपयोग गर्दै टिम कप्तान रमेश गुरुङले एक गोल फर्काएका थिए । निर्धारित ६० मिनेटको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो ।
आजको खेलमा बिर्तामोड–५ का रोशन बोहोरा ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद २५ सय पुरस्कार पाए । उनलाई बिर्तामोड वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्मा, आयोजक बिर्तामोड नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरी र युवा व्यवसायी दिपेन चौधरीले पुरस्कार रकम प्रदान गरेका थिए ।