![](https://sajhamanch.com/wp-content/uploads/2023/10/nirajan-raya.jpg)
विराटनगर । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको एक समूहले संगठनकै सदस्य विद्यार्थीलाई कुटपिट गरेको छ ।
सोमबार कलेज गएका बीबीएस दोस्रो वर्षका विद्यार्थी निराजन रायलाई रोहित यादवसहितको समूहले कुटपिट गरेको हो । केही दिनअघि यादवसहितको समूहले रायलाई कलेजमा प्रवेश निषेध घोषणा गरेको थियो । सोमबार आफ्नो कक्षामा गएका रायलाई क्याम्पस आएको भन्दै संगठनकै विद्यार्थीले हातपात गरेका हुन् ।
आफूमाथि कुटपिट र कलेज निष्कासनको घोषणा गरेपछि निराजनले यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस इकाई कमिटीले २५ भदौमा सातौं इकाइ सम्मेलन आयोजना गरेको थियो । सम्मेलनको बन्द सत्रपछि गर्ने सहमति भएपनि क्रन्तिकारीको एउटा समूहले सोही दिन विकास यादवलाई पुनः इकाई अध्यक्ष घोषणा गरेको थियो ।
त्यसपछि माओवादी केन्द्र जिल्ला अध्यक्ष विजय विश्वासहितका नेताले १७ असोजमा भेला राखेर निराजन रायलाई इकाइ अध्यक्ष घोषणा गरेका थिए ।
आफ्ना विरुद्ध रायलाई अध्यक्ष घोषणा गरेपछि यादवले रायलाई कलेजमा प्रवेश निषेधको घोषणा गरेका थिए ।
यता विकास यादवले भने आफूले प्रवेश निषेध गरेका व्यक्ति आएपछि कलेजबाट बाहिर निकालेको बताए । उनले हातपात भने नगरेको जिकिर गरे । संगठनमा देखिएको विवाद सामधानका लागि पार्टीले पनि समन्वय नगरेको उनले बताए । अखिल क्रान्तिकारी मोरङ जिल्ला इञ्चार्ज टेकेन क्षेत्रीले इकाईमा देखिएको विवाद समाधानको प्रयास भइरहेको बताए ।