![](https://sajhamanch.com/wp-content/uploads/2023/10/prachanda-1-1697091566.jpg)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस पार्टी हो कि मञ्च हो भन्ने बुझ्न नसकिएको बताएका छन् । उनले कांग्रेसबारे प्रष्ट हुन नसकेको बताए ।
धनगढीमा आयोजित समाजवादी मोर्चाको कार्यक्रममा उनले नेकपा (एमाले)भित्र पहिलोपटक ठूला चिरा परेको पनि बताए ।
“पहिलोचोटी एमालेभित्र ठूल्ठूला चिरा परेको देखिएको छ । राम्रो बुद्धि पुर्याउने हो भने त्यसलाई राम्रोसँग सदुपयोग गर्ने सम्भावना बढी छ,” उनले भने, “अब कांग्रेस त पार्टी हो कि, मञ्च हो कि, मोर्चा हो बुझिसाध्य छैन ।”
उनले ५४ सिट रहेको मोर्चालाई संसदीय राजनीति सहज नभएको स्वीकारे ।
“हामी मिल्दा पनि ५४ हो । नेपाली कांग्रेस एक्लै झन्डै ९० को नजिक छ । एमाले एक्लै ८० को नजिक छ । साथीहरु कहिलेकाँही बेस्सरी ठोक्नुस् भन्नुहुन्छ,” उनले भने, “परिस्थिति त्यस्तो छ । मिलाएर ठोकेन भने त आफैं ठक्कर खान्छ नि ।”
प्रधानमन्त्रीले कोसी प्रदेशमा लाजमर्दो दुईवटा गठबन्धन बनेको बताए । उनले कांग्रेसका सभापति शेरबहादुर देउवा र शेखर कोइरालासँग बालुवाटारमा सहमति गरेपछि ढुक्क भएको ठानेकोमा त्यस्तो हुन नसकेको बताए ।
उनले विश्वासको मत लिनुअघि कांग्रेसको मात्रै मन्त्री बन्ने सहमति भए पनि एमालेले मन्त्री पठाएकोमा आपत्ति जनाए ।
“एमालेले गरेको चलखेल रोकियो भन्ने ठानेको त हिजो फेरि अर्को चलखेल भयो । हामीले विश्वासको मत लिनुअघि कांग्रेसबाट एउटा मात्रै मन्त्री बनाउने भनेका थियौँ । फेरि एमालेको पनि त्यहाँ छिराइहालेछन्,” उनले भने ।
उनले त्यसलाई करेक्सन गर्ने र यही गठबन्धनले जित्ने दाबी गरे ।