२०८१ माघ १४, सोमवार , ०४:२०:३९ बजे

Sajhamanch
'

साना किसान खुदुनबारीले सदस्यलाई १२ प्रतिशत लाभांश दिने

शनिवार, असोज २७, २०८०

अर्जुनधारा। अर्जुनधारा नगरपालिका वडा नं. ३, खुदुनाबारीमा अवस्थित साना किसान कृषि सहकारी संस्थाको २४औंं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

झापा निर्वाचन क्षेत्र नं. २ (ख) का प्रदेशसभा सदस्य तिलोचन पाठक (चिन्तन)को प्रमुख आतिथ्यमा साधारण सभा उद्घाटन गरिएको थियो । सो अवसरमा मन्तब्य राख्दै उनले सहकारी आन्दोलनलाई उन्नतस्तरमा अघि बढाई मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा काम गर्न दिन सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

उनले सबै सहकारीहरुलाई एउटै ड्याङमा राखेर गाली गर्न नहुने सुझाउँदै सहकारी क्षेत्र गरेको योगदानको स्मरण गर्न आग्रह पनि गरे । सहकारीका ७ सिद्धान्त समेटेर संस्थाका अध्यक्ष कृष्णप्रसाद दंगालको प्रतिवेदन आएकोमा उनले प्रशंशा पनि गरेँ ।

सो अवसरमा संविधान सभाका सदस्य प्रेमबहादुर गिरीले साना किसान संस्था साविक खुदुनाबारी गाविसको पहिचान रहेको बताउँदै कृषकले उत्पादन गरेको वस्तु प्रशोधन र बजारीकरणको काम गरी समग्र अर्जुनधारा नगरको सहकारीको अभिभावक बन्ने गरी जुट्नुपर्ने सुझाए ।

संस्थाका अध्यक्ष कृष्णप्रसाद दंगालको अध्यक्षतामा भएको साधारण सभामा उनले आव २०७÷०८० मा संस्थाले गरेको उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतिको विषयमा विश्लेषणसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाले आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजनाहरु अघि बढाउने गरी कार्यक्रम तय गरेको सुनाउँदै अध्यक्ष दंगालले संस्थामा शेयर सदस्यको संख्या १ हजार ९८० पुगेको जनाए ।

संस्थाले ग्रामीण स्तरमा रही किसानमैत्री हुँदै कुल कारोबार, चुक्ता पूँजी, निक्षेप संकलन, ऋण लगानी, मुनाफा आर्जनसहित अन्य विविध सामाजिक क्षेत्रमा गरेको उल्लेखनीय कार्यहरूमा समेत अग्रणी स्थान लिन सफल रहेको उनको भनाई छ ।

गत आर्थिक वर्षमा संस्थाले खुद नाफा १ करोड ३७ लाख १८ हजार १३ रुपैयाँ गरेको जानकारी दिँदै ४८ करोड २६ लाख १५ सय ३५ रुपैंया सदस्यहरुमाझ कर्जा रहेको बताए ।

कार्यक्रममा बोल्दै संस्थाका मुख्य प्रबन्धक गोपीकृष्ण लुइटेलले संस्थाको समग्र वित्तीय अवस्थामा क्रमशः सुधार भइरहेको त्यसलै गर्दा कोशी प्रदेशभर संचालित सयौं सहकारीमध्ये संस्था उत्कृष्ट संस्थाको रुपमा पहिचान बनाई प्रदेश स्तरीय कृषि पुरस्कार प्राप्त गर्न सफल रहेको बताए ।

सो संस्थाले कृषिमैत्री भई समुदाय विशेष गरी आर्थिक तथा सामाजिक अवस्था सुदृढ गर्न विभिन्न प्रकारका सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

साधारणसभामा साना किसान विकास लघुवित्त वित्तिय संस्था इलाका कार्यालय बिर्तामोडका प्रमुख सुभाष गौतम, अर्जुनधारा–३ वडाअध्यक्ष सिताराम भट्टराई, अभियान नेपाल बहुृउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लोकमान श्रेष्ठ, नगर सहकारी समन्वय समितिका अध्यक्ष कृष्णप्रसाद चापागाईले साना किसान संस्था अर्जुनधारामा भुँइ मान्छेको संगठन रहर्दै मजबुत बन्दै गएकाले अर्जुनधाराको अभिभावक संस्थाको रुपमा सामुदायिक कार्यक्रम किसानको उन्नतीको लागि लागिरहेकोमा प्रशंशा गरेँ ।

संस्थाका उपाध्यक्ष नन्दलाल खनालले स्वागत मन्तव्य राखेको कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक विष्णुलाल ढकालले लेखा समितिका प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारण सभाका प्रमुख अतिथि प्रदेश सभा सदस्य पाठकले उत्कृष्ट ब्यवसायिक परियोजना यस वर्षको शेयर सदस्य जीवनकला अधिकारीलाई नगदसहित सम्मान प्रदान गरे । साधारण सभाबाट शेयर सदस्यहरुलाई १२ प्रतिशत शेयर लाभांस वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

संस्थाले सहकारी पसललाई निरन्तरता दिने, दुग्ध संकलन केन्द्र पशुधन सुरक्षण कार्यक्रम, तालिम तथा सदस्य राहतकोष, तीर्थयात्रा कार्यक्रम लगायतलाई निरन्तरता दिने भएको छ।

यसवर्ष कृषि उपज खरिद बिक्री, सूचनामा प्रविधिको प्रयोग, दुर्घटना राहत तथा राहत खर्च, कृषिसँग सम्वन्धित तालिम, संस्थाको सफ्टवेयर, कर्जा सुरक्षा कार्यक्रम गर्ने लक्ष्य लिएको छ।