काठमाडौं । इजरायलमा रहेका विद्यार्थी लिन गएको नेपाल एयरलाइन्सको विमान आजै राति स्वदेश फर्कने भएको छ । सो विमान बिहीबार बिहान ४ बजे दुबईबाट इजरायलतर्फ प्रस्थान गरेको छ । बिहीबारै बिहान साढे दुई बजे विमान काठमाडौंबाट दुबईतर्फ गएको थियो ।
उक्त विमान स्थानीय समयानुसार बिहान ११ (नेपाली समय १ः४५) बजे इजरायलमा अवतरण गर्नेछ । त्यसपछि विद्यार्थीलाई लिएर विमान नेपाल फर्कनेछ ।
तय गरिएको समयानुसार त्यहाँबाट विमान उडेमा बिहीबार राति करिब ९ बजे काठमाडौंमा अवतरण गर्ने नेपाल एयरलाइन्स स्रोतले बतायो ।स्रोतका अनुसार विद्यार्थी लिन एन–एएलजेट कलसाइन भएको वाइडबडी विमान त्यसतर्फ गएको छ ।
विद्यार्थीलाई उद्धार गरी स्वदेश ल्याउन परराष्ट्रमन्त्री एनपी साउद पनि सोही विमानमार्फत इजरायलतर्फ गएका छन् । उनी विद्यार्थीसँगै फर्कनेछन् ।
स्वदेश फर्कन आफूहरू इजरायलको तेल अभिभ विमानस्थलमा पुगिसकेको विद्यार्थी सुरज भण्डारीले फेसबुकमार्फत जानकारी गराएका छन् ।