२०८१ माघ १४, सोमवार , ०४:४८:५८ बजे

Sajhamanch
'

शिक्षा बहुउद्देश्यीय सहकारीको इकाई साधारणसभा धमाधमः दुर्गापुरमा चारजना सदस्यलाई सम्मान गर्दै सम्पन्न

बुधवार, असोज २४, २०८०

कनकाई । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले ११औं वार्षिक साधारण सभा अन्तरगत आज कनकाई–१ स्थित सदस्य सेवा केन्द्र दुर्गापुरको इकाइगत साधारण सभामा चारजना सदस्यलाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा उत्कृष्ट आवधिक बचततर्फ नरमाया बस्नेत, उत्कृष्ट शिक्षा बचततर्फ कृष्णराज राजवंशी, उत्कृष्ट ऋणीतर्फ कमला पौडेल र उत्कृष्ट साधारण बचततर्फ रुद्रप्रसाद भारती हुन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कनकाई–१ का वडाध्यक्ष सुशीलकुमार पोखरेल, विशेष अतिथि वडा सदस्य निर्मला खड्का, संस्थाका अध्यक्ष सुब्रत न्यौपाने लगायतले सम्मान प्रदान गरेका शुन् ।

कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष सुशीलकुमार पोखरेलले आफ्नो मन्तब्यमा सबै सदस्यले संस्थाप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए । उनले सबै सहकारी खराब नहुने बताउँदै खराब सोच र उद्देश्यले सञ्चालन भएका सहकारीहरुले मात्र गतल गर्ने गरेको बताए ।

कार्यक्रममा वडा सदस्य निर्मला खड्काले समाज रुपान्तरणमा सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण भएको चर्चा गर्दै साधारणसभामा आउने जाने मात्र नभई संस्थाको समग्र अवस्थाका बारेमा सदस्य जानकार हुनुपर्नेमा जोड दिएकी थिइन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चालू आर्थिक वर्षमा संस्थाको आम्दानी बृद्धि हुने, रोजगारी सिर्जना हुने र सदस्यलाई आत्मनिर्भर एवम् व्यावसायिक बनाउने खालका योजना ल्याउने तर्फ संस्था केन्द्रित हुने अवगत गराए ।

गत आवमा संस्थाका तीनजना सेयर सदस्यको ३ लाख ५० हजार १३० रुपैयाँ कर्जा मिनाह गरिएको पनि अध्यक्ष न्यौपानेले बताए ।

संस्थाका लेखा समिति संयोजक युवराज निरौलाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक संकटको जटिल अवस्थामा पनि संस्था लक्ष्य प्राप्तितर्फ अग्रसर हुँदै गएको जानकारी दिए । उनले आर्थिक वर्ष २०७९/०८० मा संस्थाको कोष एक करोड ९८ लाख ९४ हजार २२६ रुपैयाँ पुगेको जानकारी दिँदै शेयर पुँजी ३ करोड ४८ लाख ८१ हजार र बचत संकलन १६ करोड ८४ लाख ७ हजार १५८ रुपैयाँ रहेको बताए ।

कार्यक्रममा ऋण उपसमिति संयोजक एवम् संस्थाका उपाध्यक्ष हेमराज मिश्रले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७९/०८० मा संस्था कूल २९ करोड ५६ लाख ६२ हजार रहेको र कर्जा असुली ११ करोड ४५ लाख ६१ हजार ८११ रुपैयाँ रहेको जानकारी दिए । संस्थाको लगानीमा रहेको ऋण १८ करोड ९ लाख १९० रुपैयाँ रहेको छ भने ऋणबाट ३ करोड ५३ लाख ४१ हजार ३३९ रुपैयाँ आम्दानी गरेको छ ।

संस्थाका सचिव सूर्यकुमार खतिवडाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सञ्चालक समिति सदस्य चिजा राईले गरेकी थिइन् ।