२०८१ माघ १४, सोमवार , ०३:३१:२२ बजे

Sajhamanch
'

शिक्षा बहुउद्देश्यीय सहकारी एकाई साधारणसभा मंगलबारदेखि, तीनजना सञ्चालक सदस्य छानिने, ८ प्रतिशत सहुलियत दरमा कर्जा प्रवाह गरिँदै

सोमवार, असोज २२, २०८०

झापा । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा अन्तरगत सेवाकेन्द्र इकाईगत साधारणसभा भोलि असोज २३ गते मंगलबारदेखि २९ गतेसम्म गरिने भएको छ ।

समान कार्यसूचिका आधारमा सबै सेयर सदस्यहरुलाई आमन्त्रण गरी सम्बन्धित सेवाकेन्द्रहरुको संयोजनमा इकाइगत साधारणसभा गर्ने तय भएको सचिव सूर्य खतिवडाले जनाएका छन् ।

संस्थाको माइन्युट प्रमाणित साधारणसभाको अवसरमा रिक्त तीनजना सञ्चालक सदस्यहरुको पूर्तिका लागि निर्वाचनको कार्यतालिका पनि सार्वजनिक गरिएको छ ।

संस्थाद्वारा गठित निर्वाचन समितिले असोज ३० गते र कात्तिक १ गतेका लागि निर्वाचनको कार्यक्रम सार्वजनिक गरिसकेको छ । उक्त तीनजना सञ्चालकहरु मध्ये कम्तीमा एकजना महिला हुने गरी उम्मेदवारी दर्ता गरिने सूचनामा उल्लेख छ ।

यसैबीच संस्थाले आफ्ना सदस्यहरुलाई स्वरोजगार एवम् उद्यमी बनाउन अनेकन पहल पनि गरिरहेको पाइएको छ । पछिल्लो समय ८ प्रतिशत व्याजदरमा नै कर्जा प्रदान गरेर उद्यमी बन्न चाहने सदस्यहरुलाई शिक्षा सहकारीले प्रोत्साहन गरिरहेको पाइएको हो ।

सानो लगानीबाट आत्मनिर्भर बन्न खोज्ने सदस्यका लागि शिक्षा बहुउद्देश्यीयले सहुलियत दरमा कर्जा प्रवाह गरेको अध्यक्ष सुब्रत न्यौपानेले बताएका छन् । युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँगको सहकार्यमा उद्यमशीलताको विकास गरी आत्मनिर्भर हुन चाहने सदस्यका लागि सहुलियत दरमा कर्जा प्रवाह गरिएको उनको भनाई छ ।

संस्थाका अध्यक्ष न्यौपाने कृषि तथा सेवामूलक व्यवसाय गर्न चाहने संस्थाका सदस्यले आठ प्रतिशत व्याजदरमा कर्जा पाउँदै गरेको बताउँछन् । शिक्षाले नियमित बचत गरिरहेका सदस्य छानेर ८ प्रतिशत ब्याज दरमा कर्जा दिने गरेको हो ।

संस्थाले उपलब्ध गराएको सहुलियत दरको कर्जा लिएर हाल २२ जना सदस्यहरु स्वरोजगार मात्र बनेका छैनन्, अरुलाई रोजगारी पनि दिएको बताइएको छ । चालु आर्थिक वर्षमा पनि उद्यमी बन्न चाहनेका लागि सहुलियत दरको कर्जा प्रदान गरिने अध्यक्ष न्यौपानेले बताए ।

कोषसँगको सहकार्यमा शिक्षा बहुउद्देश्यीयले कृषि, पशुपालन तथा सेवा व्यवसायमा ७५ लाख रुपैयाँ लगानी गर्ने योजना बनाएको संस्थाका उपाध्यक्ष हेमराज मिश्र बताउँछन् ।

ऋण उप समितिका संयोजकसमेत रहेका मिश्रले सानो लगानीबाट पेशा व्यवसाय गर्नेहरु सहुलियत दरको कर्जाबाट लाभान्वित भइरहेको बताए । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकम कर्जा पाउने सदस्यहरुले ३६ महिनाभित्र सावाँ ब्याज तिरिसक्नुपर्ने व्यवस्था छ ।