
रुपन्देही । पाल्पाको रामपुरमा बाटो मर्मत गर्ने क्रममा सुक्खा पहिरोले जेसीबी पुरिँदा चालकको मृत्यु भएको छ ।
रामपुर नगरपालिका–१०, बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडकखण्ड मर्मत गरिँदै थियो । सोही क्रममा बा२क १९५७ नम्बरको जेसीबी टोक्सेमा सडकमाथिबाट अचानक सुक्खा पहिरो झर्दा पुरिएको हो ।
जेसीबी चालक दाङको शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय धनवीर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनालगत्तै प्रहरीचौकी हुँगी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको टोलीले घाइते खड्काको उद्धार गरी उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको थियो । उपचारकै क्रममा गए राति घाइते खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।