२०८१ फागुन १७, शनिवार , ०२:२३:०२ बजे

Sajhamanch
'

चाँद र बिएसके सेमीफाइनल प्रवेश

सोमवार, असोज २२, २०८०

मानेभञ्ज्याङ (भारत) । सातौं मानेभञ्ज्याङ गोल्डकप प्रतियोगितामा चाँद एफसी तीनधारिया र बिएसके जलपाइगुडी सेमीफाइनल प्रवेश गरेका छन् ।

प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा चाँदले जर्जियन एफसी कालेम्पोङ र दोश्रो क्वाटरफाइनलमा जलपाइगुडीले दलसिङपाडा स्पोर्टस एकाडेमीलाई हराएको हो ।

पहिलो खेलमा चाँदले ४–२ गोल अन्तरले अन्तिम ४ मा स्थान बनाएको हो । प्रतियोगितामा सुरुवाती अग्रता जर्जियनले बनाएको थियो । कुन्जमान थापाले तेश्रो मिनेटमा नै गोल गरेका थिए । २३औं मिनेटमा सिद्धान्त क्षेत्रीले खेल बराबरीमा ल्याए । खेलको ४८औं मिनेटमा कुन्जमानले व्यक्तिगत दोश्रो गोल गर्दै जर्जियनलाई अग्रता दिलाए ।

विरेन प्रधानले ५५ र भाइचुङ राईले ६५औं मिनेटमा गोल गरेपछि ४–२ गोल अन्तरको जितका साथ चाँदले सेमीफाइनलमा स्थान बनाउन सफल रह्यो ।

त्यसैगरी दोश्रो क्वाटरफाइनल खेलमा दलसिङपाडा स्पोर्टस एकाडेमीलाई सडनडेथमा हराउँदै बिएसकेले अन्तिम ४ मा स्थान बनाएको छ ।

निर्धारित समयमा दुवै टिमबाट २–२ गोल भएपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो । टाइब्रेकरमा समेत बराबरी भएपछि सडनडेथमा धकेलिएको खेलमा जलपाइगुडीले जित निकालेको हो ।

मेसुके ओलमाउले १५औं मिनेटमा गोल गर्दै जलपाइगुडीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

३०औं मिनेटमा मेसुकेले व्यक्तिगत दोश्रो गोल गरे । कप्तान हेमराज भुजेलले ३६ र सुजल मुण्डा (पोग्वा) ले ५४औं मिनेटमा गोल गरेपछि दलसिंङपाडा खेलमा फर्किएको थियो । सडनडेथमा दलसिंङपाडा भाग्यमानी सावित हुन सकेन ।

प्रतियोगिताको तेश्रो क्वाटरफाइनल खेलमा सिरिजंघा स्पोर्टिङ क्लब भद्रपुरले कञ्चनजंघा एफसी सिलिगुडीको सामना गर्नेछ । सिरिजंघाले मोहम्मडन एथ्लेटिक कोलकत्ता र कञ्चनजंघाले हिमालयन शेर्पा काठमाडौंलाई हराउँदै अन्तिम ८ मा स्थान बनाएका हुन् ।

प्रतियोगितामा नेपालका ५ र भारतका ११ क्लबको सहभागिता छ । प्रतियोगिताको बिजेताले ८ लाख रुपैया (५ लाख भारु) तथा उपविजेताले ४ लाख (२ लाख ५० हजार भारु) पाउने छन् । फाइनल खेल अक्टोबर १५ तारिक असोज २८ गते घटस्थापनाका लिन हुनेछ ।

सोमवार, असोज २२, २०८० | खेलकुद

सम्बन्धित खबर