२०८१ माघ १४, सोमवार , ०५:०३:३७ बजे

Sajhamanch
'

कर्णाली साकोस जुरोपानी सेवा केन्द्र घेराउ गर्ने समूहलाई कारबाहीको माग

शनिवार, असोज २०, २०८०

झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो जुरोपानी सेवाकेन्द्रमा केही अराजक व्यक्तिहरुले आतंक सिर्जना गरेको जनाउँदै सो कार्यको घोर निन्दा गरेको छ । असोज ९ गतेको भएको घटनाप्रति संस्थाले शनिबार विज्ञप्ति जारी गर्दै आपत्ती जनाएको हो ।

“राष्ट्र, राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ अभियान” नाम लिएर आएको एक समूहले सहकारीका कर्मचारीहरुलाई धाक धम्की दिने, कर्मचारीको बालबच्चा तथा परिवारमा आतंक सिर्जना हुने खालका अभिव्यक्तिसहित सहकारी संस्थाका सेवाकेन्द्रमा घेराउ गर्ने कार्यप्रति साकोसले आपत्ती जनाएको हो ।

सहकारी संस्थाबाट सदस्यले लिएको कर्जा मिनाहा गर्नुपर्ने, धितो सुरक्षण राखी कर्जा लिएर समयमा ऋण नतिर्ने व्यक्तिहरुलाई समेत तागेता गर्न नहुने भन्दै केही अराजक व्यक्तिहरुले आतंक सिर्जना गरेको विज्ञप्तिमा उल्लेख छ । त्यसप्रति घोर आपत्ति जनाउँदै संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत कुमार यक्सोले विज्ञप्ति जारी गरी आपत्ती जनाएका हुन् ।

उनीहरुले संस्थाप्रति कुनै गुनासो वा सल्लाह सुझाव दिनु परेमा संस्थाको मुख्य कार्यालय बिर्तामोडमा आई जिम्मेवार पक्ष वा सञ्चालक समिति समक्ष खुल्ला छलफल तथा वार्तामा आउन आह्वान समेत गरेका छन् । साथै “राष्ट्र, राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ अभियान“ विधिवत दर्ता भई सञ्चालन भएको संस्था हो भने सो संस्थाको विधानको उद्देश्य अनुरुप यस्ता गतिविधि सञ्चालन भएको हो वा विधान विपरित गतिविधि भइरहेको विषयमा उक्त संस्था दर्ता गरिदिने नेपाल सरकारको सम्बन्धित निकायको समेत विज्ञप्तिमार्फत ध्यानाकर्षण गरिएको छ ।