२०८१ मंसिर ११, मङ्गलवार , ०७:३५:५५ बजे

Sajhamanch
'

इण्डियन आइडलमा मेनुकाको दमदार प्रस्तुति, अडिसनमा नै जितिन् ‘गोल्डेन माइक’

आइतवार, असोज २१, २०८०

झापा। झापाको गरामनीस्थित दुर्गा माविका पूर्व विद्यार्थी, झापाको हल्दीबारी साविक जलथलमा जन्मिएकी मेनुका पौडेलले भारतीय टिभी रियालिटी शो इण्डियन आइडलको अडिसन राउण्डमा मर्मस्पर्शी प्रस्तुति दिएकी छन् । उनको प्रस्तुतिले जजबाट ‘स्ट्यान्डिङ ओभेसन’ मात्र प्राप्त गरेन, ‘गोल्डेन माइक’ समेत जित्यो ।

अडिसन राउण्डमा ‘तुम्हारे बिना हमारे कोनो नही’ बोलको शास्त्रीय भजन गाएकी मेनुकाको गायकीमा तीनैजना जजहरु भक्कानिएको देखिन्छ । उनीहरु ‘शब्दविहीन’ रहे । त्यसपछि उभिएर सम्मान प्रदान गरे । जजहरु कुमार सानु, श्रेया घोषाल र विशाल ददलानीले आँसु बगाउँदै आफूलाई सम्हाल्न सकेनन् ।

त्यसपछि जज ददलानीले त भगवानलाई अघि देखिरहेको भन्दै मेनुकाको गायकीको प्रशंसा गरे । उनले भने, ‘हामी संगीतकर्मी जुन चीजलाई पुज्छौं नि, त्यसलाई अघि देखिरहेका छौं । म जुन चिजलाई पुज्छु, त्यो तिमी आफैं हौ । श्रेया रोइरहेकी छिन् । म रोइरहेको छु । यसको अर्थ हामीले संगीतलाई आज मनैदेखि सरी भन्नुपर्छ ।’

अर्का जज कुमार सानुले भने, ‘तिमीले मेरो लागि धेरै काम गरिदियौ । आजको दिनदेखि मैले जुन संगीत बनाउँछु, त्यो भिन्न हुनेछ । यसको कारण तिमी हौ ।’

श्रेया घोषालले पनि मेनुकाको प्रशंसामा शब्द खर्चिइन् । मेनुकाको गायकीले आफूभित्रको संगीत जागेको भन्दै स्पष्टता प्रदान गरेको बताइन् । ‘तिमी को हौ, तिमी आफैंलाई थाहा छैन मेनुका, यसकारण मलाई मजा आयो । मलाई लाग्दैन कि इण्डियन आइडलमा अरु कसैले यति राम्रोसँग गाएको छ ।’

तीनै जजले मञ्चमा उक्लिएर मेनुकालाई गोल्डेन माइक प्रदान गरे । मेनुकाले यसअघि नेपाल आइडलमा भाग लिएकी थिइन् । साथै अर्को भारतीय रियालिटी शो ‘सारेगमप’मा पनि सहभागिता जनाएकी थिइन् ।

सम्बन्धित खबर