
मकवानपुर । मकवानपुरमा बुधबार भएको छुट्टाछुट्टै दुई वटा दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
बकैयामा दूध बोक्ने ट्याङ्कर पल्टिँदा हेटौंडा ९ बस्ने ३५ वर्षीय गाडी चालक सिद्धान्त लामाको मृत्यु भएको हो। धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैया–५ तीनतलेमा हेटौंडाबाट जाँदै गरेको ना १ घ ५४४ नम्बरको ट्याङ्कर अनियन्त्रित भएर दुर्घटना भएको हो।
घटनामा घाइते भएका चालकको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा ट्याङ्करका सहचालक धादिङ गजुरी घर भएका ४५ वर्षीय को प्रेम अधिकारी घाइते भएका छन्।
यस्तै हेटौंडा १९ सानान्टारमा ट्रकले म्याजिकलाई ठक्कर दिँदा ९ जना घाइते भएका छन्। मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको ना १ ज ३१६७ नम्बरको म्याजिकलाई सोही दिशाबाट आउँदै गरेको ना ५ ख ९६८४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको हो।
दुर्घटनामा राक्सिराङ–२ का २१ वर्षीय रिता राना मगर, हेटौंडा–११ का ३६ वर्षीय बिमल पुलामी मगर, हेटौंडा–१९ नेवारपानीका ३५ वर्षीय होईसेल लामा, ३३ वर्षीय लोकबहादुर मोक्तान, २ वर्षीय कुश्मी मोक्तान, ५६ वर्षीय ठूलीमाया बम्जन, ५६ वर्षीय लालकुमारी स्याङ्तान, ३० वर्षीय कविता नेगी र म्याजिक चालक मनहरी–९ खरंगाका ४३ वर्षीय अम्बरसिंह डाँगी घाइते भएका छन्।
घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। कुश्मीको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।