काठमाडौँ । साहित्यकार जानुका गुरागाईको गजल सङ्ग्रह ‘परिवेशका सुसेली’को लोकार्पण गरिएको छ । साहित्य सुधा नेपालको आयोजनामा शनिबार काठमाडौंमा सो कृति विमोचन गरिएको हो ।
घनश्याम न्यौपाने ‘परिश्रमी’को प्रमुख आतिथ्यमा आयोजित कृति लोकार्पण कार्यक्रममा उनले गजलको बारेमा विस्तृत प्रकाश पारेका थिए । छन्द कवितामा कठोर नियम हुन्छ तर गजलमा लचकता हुने बताउँदै साहित्यकार परिश्रमीले गजललाई गद्य विधाको प्रविधाका रूपमा स्वीकार्नुपर्ने बताए ।
विशिष्ट अतिथिको रूपमा बोल्दै डा. रामप्रसाद ज्ञवालीले नेपालमा गजलले विधागत मान्यता नपाए पनि यो एक सुन्दर र गेयात्मक उपविधाका रूपमा फस्टाएको चर्चा गर्दै जुनसुकै सिर्जनामा विचार र भावनाको सौन्दर्य हुनुपर्ने कुरामा जोड दिए । सौन्दर्य फुटमा होइन एकतामा हुन्छ भन्दै डा. ज्ञवालीले सर्जकले युग युगान्तरसम्म बाँच्न सक्ने खालको सिर्जना गर्नुपर्ने कुरा औंल्याए । उनले लयको सौन्दर्य र अर्थको गाम्भीर्यले सिर्जनालाई अमर बनाउने बताए ।
सो कार्यक्रममा हरिप्रसाद पौडेल ‘स्वर्ण शिखा’ले लोकार्पित कृतिका बारेमा समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै लोकार्पित कृतिभित्रबाट दुई वटा गजल वाचन गरेका थिए ।
यस्तै गजलकारहरु मिलनकुमार ढुङ्गाना, सविता बराल, पूजन मिश्र र सुशीला धमलाको सुमधुर आवाजमा गुन्जिएका गजलले सबैलाई मन्त्रमुग्ध बनाएको थियो । सर्जकका परिवारका तर्फबाट कृतिकार जानुकाका देवर लक्ष्मीप्रसाद निरौलाले सम्बोधन गरेका थिए ।
साहित्य सुधा नेपालका उपाध्यक्ष गणेश घिमिरे ‘मार्मिक’को अध्यक्षता र योगेन्द्र पौडेलको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका आजीवन सदस्य पवित्रा दाहालको स्वागत मन्तव्य रहेको थियो ।
कार्यक्रमका अध्यक्ष घिमिरेले कृतिकारको परिचय दिँदै उनी सानैदेखि तीक्ष्ण र मिहिनेती रहेको र आफ्नो छात्राको यस किसिमको सृजनशीलताले आफूलाई गौरवान्वित बनाएको चर्चा गरे । उक्त कार्यक्रममा डा. प्रदीपकुमार मैनाली र नारायण जोशीले शुभकामना मन्तव्य राखेका थिए ।
लोकार्पित कृतिका कृतिकार गुरागाईले आफूलाई साहित्यमा प्रोत्साहित गर्ने आफ्ना पति र सुपुत्रीको साथै गजल लेखनमा डोर्याउने व्यक्तित्वहरूप्रति आभार व्यक्त गर्दै सधैँ साहित्य सिर्जनामा लागिरहने प्रतिबद्धता पनि व्यक्त गरिन् ।