
काठमाडौं । पाकिस्तानलाई ३–० ले पराजित गर्दै भारतले तेस्रो पटक साफ यू–१९ च्याम्पियन बनेको छ ।
मालिङथन किप्गेनको २ गोल र गोगमसर गोयारीले अन्तिम समयमा गरेको गोलको मद्दतमा भारतले पाकिस्तानमाथि सहज जित हासिल गरेको हो ।
डिफेन्डिङ च्याम्पियन भारतले यो सहित तेस्रो पटक यू–१९ साप च्याम्पियनसिप जितेको हो । भारतले यसअघि सन् २०२२ र सन् २०१९ मा बंगलादेशलाई हराउँदै यो उपाधि जितेको थियो ।
शनिबार पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा भारतका लागि ६४ औं मिनेटमा किप्गेनले गोल गरे । उनले पाकिस्तानका ५ जना भन्दा बढी डिफेन्डरलाई छलाउँदै गोल गर्न सफल भएका थिए । उनैले ८५ औं मिनेटमा फ्रिकिकमा गोल गर्दै भारतको अग्रता दोब्बर पारे ।
त्यसपछि गोगमसिर गोयरीले थप गरिएको समयमा हेडमार्फत गोल गर्दै भारतको उपाधि सुनिश्चित गरे ।
खेलको अन्तिम मिनेटमा अलिजफले दोस्रो पहेंलो कार्ड पाएर मैदान छाडेपछि पाकिस्तान १० खेलाडीमा सीमित भएको थियो । त्यसैले खेलको अन्तिम मिनेट केही तनावपूर्ण बनेको थियो ।
यू–१९ साफ च्याम्पियनसिपमा पाकिस्तानको यो डेब्यू खेल हो । डेब्यू खेलमै ऊ फाइनल पुग्न सफल भएको हो ।