
हान्झाउ । नेपालका दीपक अधिकारीले चीनको हान्जाउमा जारी १९औं एसियाड अन्तर्गत एथ्लेटिक्सको पुरुष १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा शनिबार साँझ भएको स्पर्धामा दीपकले निर्धारित दूरी २९ मिनेट ३५।०६ सेकेण्ड मा पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाए ।
उनले सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएकोमा भएको १७औं एसियाडमा गोपीचन्द्र पार्कीले बनाएको कीर्तिमान तोडेका हुन् । गोपीले ३० मिनेट ३०।९९ सेकेण्डको कीर्तिमान बनाएका थिए । दीपकले ९ वर्षपछि उक्त कीर्तिमान तोडेका हुन् ।
यसअघि दीपकले गत वर्ष पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदमा १० हजार मिटरमा ३० मिनेट १०।३ सेकेण्डको ह्याण्ड कीर्तिमान बनाएका थिए । तर इलेक्ट्रिक टाइमिङ नभएकाले उक्त कीर्तिमानलाई आधिकारिक मान्यता दिइएको थिएन ।
१९औं एसियाडमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउने दीपक पहिलो नेपाली खेलाडी समेत बनेका छन् । एसियाडको उक्त प्रतिस्पर्धामा १६ जना सहभागी भएकामा दीपक सातौं स्थानमा रहे ।
एथ्लेटिक्सका मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङले एसियाडमा राष्ट्रिय कीर्तिमान बन्नु पदक जितेसरह भएको प्रतिक्रिया दिए । ‘यो एकदमै ठूलो उपलब्धी हो सबैको मिहिनेतले सफल भयौ, एकदमै खुशी छौं’, उनले भने ।
खेलाडी दीपक अधिकारीले आफ्नो मिहिनेतअनुसारको नतिजा आएको बताए । ‘एकदमै खुशी लागेको छ, मिहिनेत अनुसार रिजल्ट आयो । नियमित प्रशिक्षण भए अझ राम्रो गर्न सकिन्छ’ उनले भने ।