२०८१ पौष ४, बिहिवार , ०३:४६:४२ बजे

Sajhamanch
'

सताक्षीधाम साहित्य संगममा नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दाहाल

शनिवार, असोज १३, २०८०

शिवसताक्षी । सताक्षीधाम साहित्य संगममा नयाँ कार्य समिति चयन भएको छ ।

शिवसताक्षीको दूधेमा रहेको सताक्षीधाम साहित्य संगमको प्रथम अधिवेशनले उमानाथ दाहालको अध्यक्षतामा सर्वसम्मत ९ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो । दाहाल दोस्रो पटक अध्यक्ष भएका हुन् ।

वि.सं. २०५८ सालमा स्थापना भएको सताक्षीधाम साहित्य संगमले जिल्ला प्रशासन कार्यमा दर्ता गरेसँगै प्रथम साधारण सभा तथा अधिवेशन गरेको हो । जसको उपाध्यक्षमा पदमप्रसाद दाहाल, सचिवमा यादवप्रसाद घिमिरे, कोषाध्यक्षमा लोकमणी गौतम रहेका छन् ।

त्यस्तै सदस्यहरुमा श्रीप्रसाद खरेल, सरोज भट्टराई, सुस्मिता राई, डम्बर खड्का र निरोज दुलाल सर्वसम्मत चयन भएको सताक्षीधाम साहित्य संगमले जनाएको छ ।

अधिवेशनले सल्लाहकार समिति संयोजक श्री नरपति पाठकलाई चयन गरेको छ । निव निर्मित समितिले अन्य उपसमिति समेत चयन गरेको छ । प्राविधिक समिति संयोजकमा नारायण भट्टराई, सह संयोजकमा छविलाल दवाडी रहेका छन् ।
सांगीतिक तथा साँस्कृतिक समितिको संयोजकमा यदुनाथ दाहाल  सहसंयोजकमा अश्विन धिताल चयन गरिएको अध्यक्ष उमानाथ दाहालले जानकारी दिए । दाहालका अनुसार नवगठित उपसमितिहरु कार्य समितिले पूर्णता दिने छ ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले साहित्य पनि समाज परिवर्तनका लागि सम्वाहक बन्ने गरेको बताइन् । साहित्य, कला, संस्कृति एक अर्काका परिपुरक भएकाले समाज परिवर्तन र शिक्षामा यसले ठूलो भूमिका खेल्दै आएको उनको भनाई थियो । शिवसताक्षी नगरपालिकाले साहित्य,कला संस्कृतिलाई महत्वका साथ प्राथमिकतामा राखेर काम गर्ने उनले जानकारी दिइन् ।

कार्यक्रममा अध्यक्ष उमानाथ दाहालले अध्यक्षको प्रतिवेदन र सचिव श्रीप्रसाद खरेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा गजलकार दिलिप घिमिरे, छत्र बस्नेत, जापान थेवे लगायतले कविता, गजल, गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव यादवप्रसाद घिमिरेले गरेका थिए ।

शनिवार, असोज १३, २०८० | साहित्य

सम्बन्धित खबर