२०८१ पौष ८, सोमवार , ०७:३२:०१ बजे

Sajhamanch
'

मंगोलियाविरुद्ध नेपालका १३ कीर्तिमान

बुधवार, असोज १०, २०८०

काठमाडौँ । चीनमा जारी १९औं एसियाली खेलकुद अन्र्तगत नेपालले क्रिकेटमा आज १३ वटा किर्तिमान राखेको छ।

आज नेपालले पहिलो चोटी अन्र्तराष्ट्रिय क्रिकेट खेलेको मंगोलियामाथि २ सय ७३ रनको फराकिलो जित हातपार्दै इतिहास रचेको हो। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारीत २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनायो। जितका लागि ३१५ रन पछ्याएको मंगोलियालाई नेपालले जम्मा ४१ रनमै अलआउट गरेर इतिहास रचेको हो।

मंगोलियाविरुद्ध नेपालले बनाएका कीर्तिमानहरु

ओडिआई र टि २० आई दुबैमा छिटो शतक

कुशल मल्ल नेपालबाट ओडिआई र टि २० आई दुबैमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याटर बनेका छन्। टि २० आईमा उनले ३४ र ओडिआईमा गत मार्चमा ओमानविरुद्ध ५९ बलमा शतक पूरा गरेका थिए।

यसअघि टि २० आईमा नेपालका लागि नेपाल क्रिकेट संघ क्यानका सचिव एवंम पूर्वकप्तान पारस खड्काले २०१९ मा सिंगापुरविरुद्ध ४९ बलमा शतक बनाएका थिए।

रोहित पौडेल र कुशल मल्लको १९ बलमै अर्धशतक

आज मंगोलियाविरुद्ध कुशल मल्ल र कप्तान रोहित पौडेलले १९ बलमा अर्धशतक पूरा गरेर इतिहास रचे । नेपालबाट यो सर्वाधिक छिटो टि २० आई अर्धशतक हो। यसअघि टि२० आईमा नेपालबाट सर्वाधिक छिटो अर्धशतक पूर्वकप्तान ज्ञानेन्द्र मल्लले २०१९ मा मलेसियाविरुद्ध २० बलमा प्रहार गरेका थिए।

त्यस्तै ओडिआईमा गत मार्चमा आसिफ शेखले पपुवा न्युगिनीविरुद्ध २१ बलमा सतक पुरा गरेका थिए । नेपालको इतिहासमै भने ज्ञानेन्द्रले २०१२ मा साउदी अरेवियाविरुद्ध १८ बलमा पूरा गरेका थिए।

दीपेन्द्रसिंह ऐरीको ७ अर्धशतक

दीपेन्द्रसिंह ऐरीले मंगोलिया विरुद्ध अर्धसतक प्रहार गरेसंगै नेपालबाट सर्वाधिक ७ अर्धशतक बनाउने खेलाडी बनेका छन । उनीपछि कुशल भुर्तेलले ६ र पारस खड्काले ५ अर्धशतक प्रहार गरेका छन् ।

कुसल मल्ल १२ छक्का प्रहार गर्ने पहिलो नेपाली खेलाडी

कुशल मल्लले मंगोलियाविरुद्ध कुल १२ छक्का प्रहार गरे। उनी कुनैपनि खेलमा सर्वाधिक छक्का प्रहार गर्ने पहिलो नेपाली ब्याटर बनेका छन। गत अप्रिलमा कुशलले ओडिआईमा ओमानविरुद्ध १० छक्का हानेका थिए। आफ्नो उक्त कीर्तिमान तोडेका हुन्। टि २० आईमा २०१९ मा पारस खड्काले सिंगापुरविरुद्ध तथा ज्ञानेन्द्र मल्लले भुटानविरुद्ध समान ९ छक्का हानेका थिए।

नेपाली ब्याटरको उच्च साझेदारी

तेस्रो विकेटका लागि कुशल मल्लर रोहित पौडेलले १ सय ९३ रनको साझेदारी गरेका थिए।यो विश्व कीर्तिमानी साझेदारी हो । नेपाली ब्याटरले गरेको यो कुनैपनि खेलको उच्च साझेदारी हो।

यसअघि ओडिआईमा गत जुनमा जिम्बावेविरुद्ध आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि १ सय ७१ रनको साझेदारी गरेका थिए। टि २० आईमा २०१९ मा आरिफ शेख र पारस खड्काले १ सय ४५ रनको साझेदारी दोस्रो विकेटका लागि गरेका थिए।

कुशल मल्ल एकै खेलमा सर्वाधिक रन बनाउने ब्याटर

कुशल मल्ल नेपालबाट कुनैपनि एक अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक रन बनाउने ब्याटर बनेका छन्। कुशलले रोहित पौडेलको २०२२ मार्चमा पपुवा न्युगिनीविरुद्ध बनाएको १ सय २६ रनको कीर्तिमान तोडेका हुन्। उनी आज मंगोलियाविरुद्ध १३७ रनमा नट आउट रहे।

नेपालको उच्च योगफल

मंगोलियाविरुद्ध आज नेपालले बनाएको ३१४ रन यसअघि सम्मको उच्च योगफल हो । यसअघि टि २० आईमा नेपालले २०२१ मा मलेसियाविरुद्ध २ सय ३८ र ओडिआईमा ओमानविरुद्ध ३ सय १० रन बनाएको थियो । ओडिआईमा उच्च जित गत मार्चमा युएईविरुद्ध १ सय ७७ रन थियो । टि २० आईमा २०२१ मा नेदरल्यान्ड्सविरुद्ध १ सय ४३ रनको जित थियो।

तेस्रो विकेटका लागि विश्व कीर्तिमान

कुशल मल्ल र रोहित पौडेलले तेस्रो विकेटका लागि १ सय ९३ रनको साझेदारी गरेका थिए । टि २० आईमा कुनैपनि जोडीले तेस्रो विकेटका लागि गरेको यो उच्च साझेदारी हो । यसअघि तेस्रो विकेटका लागि २०२० मा न्युजिल्यान्डका डेभन कन्वे र ग्लेन फिलिप्सले वेस्टइन्डिजविरुद्ध १ सय ८४ रनको साझेदारी गरेका थिए।

टि २० इतिहासमा यो आठौं ठूलो साझेदारी हो । टि २० आईमा सर्वाधिक ठूलो साझेदारी अफगानिस्तानका उस्मान घानी र हज्रतुल्लाह जजाईले पहिलो विकेटका लागि २०१९ मा आयरल्यान्डविरुद्ध २ सय ३६ रनको साझेदारी गरेका थिए।

टि २० आईकै सर्वाधिक छिटो शतक

कुशल मल्लको ३४ बलमा शतक टि २० आई इतिहासकै सर्वाधिक छिटो हो । यसअघि भारतका रोहित शर्मा र दक्षिण अफ्रिकाका डेविड मिलरले श्रीलंकाविरुद्ध समान ३५ बलमा शतक हानेका थिए । त्यस्तै चेक रिपब्लिकनका सुदेश विक्रमशेखरले टर्कीविरुद्ध ३५ बलमै शतक हानेका थिए ।

दीपेन्द्रको दुर्लभ अर्धशतक

मंगोलियाविरुद्ध दीपेन्द्रले ९ बलमा ८ छक्कासहित ५० रन बनाएका थिए । यो कुनैपनि क्रिकेट खेलमा बनेको सर्वाधिक छिटो अर्धशतक हो । यसअघि टि २० आईमा भारतका युवराज सिंहले १२, ओडिआईमा दक्षिण अफ्रिकाका एवि डिभिलियर्सले १६ र टेस्टमा पाकिस्तानका मिस्बाह उल हकले २१ बलमा अर्धशतक पूरा गरेका थिए।

टि २० आईमा सर्वाधिक फराकिलो जित

नेपालले मंगोलियालाई २ सय ७३ रनले हरायो । यो टि २० आई इतिहासकै फराकिलो जित हो। यसअघि चेक रिपब्लिकनले टर्कीविरुद्ध २०१९ मा २ सय ५७ रनले हराएको थियो।

एकै खेलमा इनिङमा सर्वाधिक छक्का

नेपालबाट कुशल मल्लले १२, दीपेन्द्रसिंह ऐरीले ८ र रोहित पौडेलले ६ गरि कुल २६ छक्का प्रहार गर्यो । टि २० आईमा कुनैपनि टोलीले एकै इनिङमा प्रहार गरेको सर्वाधिक छक्का हो । यसअघि अफगानिस्तानले २०१९ मा आयरल्यान्ड तथा वेस्टइन्डिजले दक्षिण अफ्रिकाविरुद्ध २०२३ मा समान २२ छक्का हानेका थिए ।

नेपाल टि २० आईमा ३ सय रन बनाउने पहिलो टोली

नेपाल टि २० आई इतिहासमा ३ सय रन बनाउने पहिलो टोली बनेको छ। यसअघि टि २० आईमा उच्च योगफल अफगानिस्तानले २०१९ मा आयरल्यान्डविरुद्ध २ सय ७८ रन बनाएको थियो।

सम्बन्धित खबर