झापा । भारतको असमस्थित असम लेखिका समाज गुवाहाटी र नवनासो साहित्य प्रतिष्ठान शिवसताक्षी झापाको मैत्रीपूर्ण बैठकबाट नेपाली र आसामी कविका कविता प्रकाशनको निणर्य भएको छ ।
नवनासोका अध्यक्ष दिलीप घिमिरेको अगुवाईमा गजलकार विवश बलिभद्र कोइराला ,भगवती ढुङ्गेल ,डा. गोपीकृष्ण खतिवडा र कविता पौडेल सहितको टोली शनिबार गुवाहाटी पुगेको थियो ।
दुई संस्थाबीचको छलफलमा दुवैतर्फका कविका कविताहरुको संयुक्त सङ्ग्रह एकै पुस्तकमा दुई भाषामा प्रकाशित गर्ने, दुई देशकै प्रतिनिधित्व हुने गरि लोहित कोशी संगम कविता संग्रहको नाम राख्ने र पुस्तकको विमोचन भव्य अन्तर्राष्ट्रिय कवि सम्मेलनमा नेपाल र भारत ठाउँमा गरिने निणर्य भएको बैठकमा सहभागी विवश बलिभद्र कोइरालाले जनाए । लेखिका समाजकी अध्यक्ष पदमी गोगोई र नवनासोका अध्यक्ष घिमिरेबीच सम्झौता भएको छ ।
मैत्री बन्धन समारोहकाबीच दिलिप घिमिरे ,विवश बलिभद्र कोइराला,भगवती ढुङ्गेल र डा.गोपीकृष्ण खतिवडालाई असम लेखिका समाजले सम्मान समेत गरेको थियो । कार्यक्रममा असम साहित्य सभाका अध्यक्ष वरिष्ठ साहित्यकार दुर्गा खतिवडा ,प्राज्ञ नव सापकोटा डा।कालीदास थपलिया साहित्यकार रण काफ्ले ,मुन्नि सापकोटा लगायतको विशेष उपस्थितिमा असम लेखिका समाजका सदस्यहरुले गीत,गजल ,कविता र परम्परागत सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।समाजकी अध्यक्ष पदमी गोगोईको सभापतित्वमा भएको कार्यक्रमको संचालन महासचिव बर्नाली दत्त बराले गरेकी थिइन् ।