
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो पीडितका लागि निर्माण गरिएको अस्थायी एकीकृत आवास कक्ष सोमवार पीडित परिवारलाई हस्तान्तरण गरिएको छ।
साउन ७ गतेबाट निर्माण कार्य सुरु गरी २ महिनाको अवधिमा असोज ७ गते सम्पन्न गरी सोमवार हस्तान्तरण गरिएको हो। पालिका अध्यक्ष विजयप्रकाश वनेम, उपाध्यक्ष कमलकुमारी लिम्बू र सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले संयुक्त अस्थायी एकीकृत आवास कक्ष सम्बन्धित पीडित परिवारलाई हस्तान्तरण गरेका हुन्।
पालिका अध्यक्ष वनेमका अनुसार मैवाखोला गाउँपालिका वडा नं ४ ओदकका ६२ परिवार र ताम्राङका २ परिवार र वडा नं ३ का एक परिवार गरी अस्थायी एकीकृत आवास स्थलमा ६५ परिवार रहेका छन्। ६५ मध्ये ६३ परिवार शेर्पा समुदायका र २ परिवार लिम्बू समुदायका रहेको पालिकाले जनाएको छ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार अस्थायी एकीकृत आवास स्थल निर्माणका लागि दातृ निकाय तथा विभिन्न संस्था र व्यक्तिहरुमार्फत ५५ लाख ९२ हजार ७ सय ७० रुपैयाँ सहयोग प्राप्त भएको छ।
टोल विकास संस्था, विद्यालय र समुदायका सदस्यहरुमार्फत श्रमदान सहित ६८ लाख १ हजार र गाउँपालिकाको २६ लाख ६० हजार १७ रुपैयाँ गरी कूल १ करोड ५० लाख ५३ हजार ७ सय ८७ रुपैयाँको लागतमा एकीकृत अस्थायी आवास स्थल निर्माण गरिएको हो।
औसतमा एउटा अस्थायी आवास कक्ष निर्माणका लागि २ लाख ३१ हजार ५ सय ९६ रुपैयाँ ७२ पैसाको दरले खर्च भएको समेत पालिकाले जनाएको छ। आवास स्थलमा ५ जना सम्म सदस्य भएका परिवारका लागि ३६ वटा, ८ जना सम्म सदस्य भएका परिवारका लागि २३ वटा र १२ जना सम्म सदस्य भएका परिवारका लागि ६ वटा अस्थायी घर बनेका छन्।
आवास स्थलमा ३६ वटा शौचालय र १८ वटा धारा निर्माण भएको गाउँपालिकाले जनाएको छ। ताप्लेजुङका विपद् पीडित परिवारलाई एकीकृत बस्तीमार्फत सुरक्षित स्थानान्तरण गर्ने मैवाखोला पहिलो स्थानीय तह भएको छ।
गाउँपालिकाले सहयोगी निकाय तथा दाताहरुप्रति आभार समेत प्रकट गरेको छ। गएको असार २ गते देखि आएको अविरल वर्षापछि गएको पहिरो तथा बाढीका कारण ताप्लेजुङका अधिकांश पालिकामा क्षति गरेको थियो। सिदिङ्वा गाउँपालिकामा ३ जनाको मृत्यु भएको थियो भने ३ जना बेपत्ता भएका थिए।
बाढी तथा पहिरोले मैवाखोला, सिदिङ्वा, सिरिजङ्गा र मेरिङदेन सहितका स्थानीय तह नराम्ररी प्रभावित भएका थिए। घरै बस्न नसक्ने गरी विस्थापित भएका परिवारका लागि मैवाखोलाले एकीकृत अस्थायी आवास स्थल निर्माण गरी पीडित परिवारलाई स्थानान्तरण गरेको छ।
पालिका अध्यक्ष वनेमले तत्काल अस्थायी आवास स्थलमार्फत सुरक्षित स्थानान्तरण गरिएको र पछि दीर्घकालीन स्थानान्तरण गर्ने योजना बनाइएको जानकारी दिए। आवास स्थलमा बिद्युत् र खानेपानीको समेत प्रबन्ध गरिएको छ।