
काठमाडौँ । नेपाली कांग्रेसले चन्द्र भण्डारीसहित ८ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्य मनोनीत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
केन्द्रीय सदस्यमा मनोनीत हुनेहरुमा मानबहादुर विश्वकर्मा अर्घाखाँची, अर्जुनप्रसाद जोशी पर्वत, डा. चन्द्र भण्डारी गुल्मी, शिवप्रसाद हुमागाई काभ्रेपलाञ्चोक, किरणराज शर्मा पौडेल बाग्लुङ, भरतकुमार शाह रुपन्देही, शारदा पौडेल कास्की र अनिलकुमार रुंगटा पर्सा रहेका छन् ।
कांग्रेस केन्द्रीय समिति बैठकअघि देउवाले उनीहरुलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् । मनोनीतमध्ये भण्डारी गत महाधिवेशनमा उपसभापतिमा पराजित भएका थिए । कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबार पार्टी कार्यालय सानेपामा सुरु हुँदैछ ।