![](https://sajhamanch.com/wp-content/uploads/2023/09/World_Suicide_Day.jpg)
झापा । बदलिँदो जीवनशैलीका कारण नेपालमा हरेक दिन २० जनाले मानसिक रोगका कारण आत्महत्या गर्ने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । हरेक वर्ष दुई प्रतिशतभन्दा बढी संख्यामा नेपालमा बढिरहेको आत्महत्याको मूल कारण मानसिक रोग रहेको विज्ञहरूको भनाई छ ।
विश्व आत्महत्या रोकथाम दिवसको अवसर पारेर नशा तथा मानसिक रोग विशेषज्ञ डा. सन्दर्भ अधिकारीसँग सोधिएको प्रश्नमा उनले भने ‘विश्वमा हरेक ४० सेकेन्डमा एकजनाले आत्महत्या गर्ने गरेका छन् भने नेपालमा हरेक दिन २० जनाको मानसिक रोगका कारण आत्महत्या हुने गरेको छ ।’
नेपाल सरकारको तथ्याङ्क अनुसार नेपालका प्रदेश मध्ये कोशी, बागमती र लुम्बिनी प्रदेशमा आत्महत्याको दर उच्च देखिन्छ । नेपाल प्रहरीको विवरणले नेपालभर आर्थिक वर्ष २०७९/०८० मा ६ हजार ९९३ जनाले आत्महत्या गरेका छन् ।
यो संख्यासँग एक दशक अगाडि २०६८/०६९ को तुलना गर्दा आत्महत्याको दर दोब्बर हाराहारीले बढेको देखाउँछ । उक्त वर्ष ३ हजार ९७७ जनाले आत्महत्या गरेको तथ्याङ्क छ ।
हरेक वर्ष आत्महत्या २ प्रतिशतभन्दा बढीको दरमा बृद्धि भइरहँदा त्यसका पछाडि मानसिक समस्या नै कारक रहने गरेको अनुसन्धानले देखाएको छ । अझ १५ देखि ४९ वर्ष उमेर समूहका महिला मुत्युको प्रमुख कारण आत्महत्या हुने गरेको समेत नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ ।
आत्महत्याको तथ्याङ्क केलाउँदा कोशी प्रदेशमा गत आर्थिक वर्ष २०७९/०८० मा एक हजार ५५० जनाले आत्महत्या गरेको विवरण छ । जसमा पुरूषको संख्या ९२९, महिलाको संख्या ४५९ जना, बालक ६४ जना र बालिका ९८ जनाले आत्महत्या गरेको कोशी प्रदेश प्रहरीको विवरणमा उल्लेख छ ।
यता झापा जिल्लाको तीन वर्षको आत्महत्या दर केलाउँदा उत्तिधेरै उतारचढाव देखिँदैन । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक खगेन्द्रप्रसाद रिजालले उपलब्ध गराएको त्रिवर्षीय तथ्याङ्कमा यस्तो आंकडा देखाइएको हो ।
प्राप्त तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/०७८ मा ३०१ जना पुरुष र ३३ जना महिला गरी ३३४ जनाले आत्महत्या गरेका छन् । यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा २२२ जना पुरुष र ९२ जना महिला गरी ३१४ जना र आर्थिक वर्ष २०७९/०८० मा १८८ जना पुरुष र १२९ जना महिला गरी ३१७ जनाले आत्महत्या गरेका छन् । चालू आर्थिक वर्षको भदौ २४ गतेसम्म २५ जना पुरुष र ९ जना महिला गरी ३४ जना गरी समीक्षा अवधिमा कूल ९९९ जनाले आत्महत्या गरेका जिल्ला प्रहरी प्रवक्ता रिजालले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
सबैभन्दा धेरै मानिसले झुण्डिएर आत्महत्याको बाटो रोजेको पाइएको छ भने विष सेवन गरी आत्महत्या गर्नेहरु दोस्रो नम्बरमा र हातहतियार प्रयोग गरी मृत्यु रोज्नेहरु थोरै छन् । समीक्षा अवधि तीन वर्षमध्ये गत आर्थिक वर्षमा १ जना पुरुषले आफैंलाई गोली हानेर र अर्का एकजनाले आगो लगाएर आत्मदाह गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
उमेरअनुसार आत्महत्याको तथ्याङ्क हेर्दा सबैभन्दा धेरै १६ वर्षदेखि २५ वर्ष उमेर समूहका मानिसहरुले यो बाटो रोजेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले उपलब्ध गराएको त्रिवर्षीय तथ्याङ्कमा जनाइए अनुसार समीक्षा अवधिमा सो उमेर समूहका २४१ जनाले आत्महत्या गरेका छन् । यस्तै, २६ देखि ३५ वर्ष उमेर समूहका १९९ जनाले, ४६ देखि ६० वर्ष उमेर समूहका १९० जनाले र ३६ देखि ४५ वर्षका १७२ जनाले आत्महत्याको बाटो रोजेका छन् ।
तथ्याङ्कअनुसार ६० वर्षभन्दा माथिको उमेर समूहका १३२ जनाले तीन वर्षको अवधिमा आत्महत्या रोजेका छन् भने १६ वर्षभन्दा कम उमेरका ६५ जनाले पनि अगुवाहरुको बाटो पछ्याएको तथ्याङ्क छ ।
आत्महत्याका लागि मानिसलाई के ले प्रभाव पार्छ भन्ने यकिन हुन सकेमा यसको दर घट्ने मनोविज्ञहरुको बुझाई छ । नशा तथा मानसिक रोग विशेषज्ञ डा. अधिकारीका अनुसार मानसिक समस्या पहिचान गर्नसके आत्महत्या न्यूनीकरण गर्न सकिन्छ तर बेवास्ता गर्ने प्रबृत्तिले मानसिक समस्या नै आत्महत्याको बाटोमा गइरहेको हो ।
आत्महत्या रोकथामका लागि सरकारले आशा जगाऔं जीवन बचाऔं नारा समेत तय गरेर विभिन्न चेतनामुलक काम गरिरहेको छ । तर आत्महत्याको दर घट्न सकिरहेको छैन ।