२०८१ पौष ५, शुक्रवार , १२:२७:३१ बजे

Sajhamanch
'

मिलापको तीज मिलनमा अग्रणी महिलाहरुलाई सम्मान

आइतवार, भदौ २४, २०८०

काठमाडौं । मिलाप दोस्रो तीज उत्सवमा वरिष्ठ गायिका ज्ञानु राणालाई दीर्घ साधना सम्मान अर्पण गरिएको छ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यमा शनिबार काठमाडौंमा भएको समारोहमा गायिका राणालाई नगदसहित दीर्घ साधना सम्मान अर्पण गरिएको हो ।

‘भाषा, साहित्य, कला संस्कृति र मौलिकताको संरक्षण तथा सम्बर्धन गरौं’ भन्ने मूल नाराका साथ कार्यक्रम सम्पन्न भएको हो । मिलाप मासिकका कार्यकारी सम्पादक तथा मिलाप फाउण्डेशनका अध्यक्ष गीता अधिकारीको अध्यक्षतामा सम्पन्न भएको समारोहमा कला, साहित्य र गीत–सङ्गीत क्षेत्रका प्रवुद्ध महिलाहरूको आथित्यता थियो ।

सो समारोहमा वरिष्ठ अभिनेत्री शर्मिला मल्ल, निर्माता÷निर्देशक एवम् अभिनेत्री दीपाश्री निरौला, गायिका मञ्जु थापा गुरुङ, अभिनेत्री रेजिना उप्रेती, कलाकार गोमा केसी, शिला गजुरेल, गायिका माण्डवी त्रिपाठी, सारिका घिमिरे, मञ्जु लावती, शुष्मा रुपाखेती, निशा रावललाई मिलाप सम्मान गरिएको थियो ।

यस्तै समारोहमा फेशन डिजाइनर अनु श्रेष्ठ, व्यवसायी एवं समाजसेवी कल्पना थापा, प्रमिला कार्की, धनराज्यलक्ष्मी शाक्य, पूजा शाह, सावित्रा अधिकारी, व्युटिसियन अनिता देउवा, मोडल एवम् समाजसेवी सलीना गुरुङलाई समाजमा उनीहरूले पुर्याएको विशिष्ट योगदानको उच्च कदर गर्दै ‘मिलाप तीज सम्मान’ अर्पण गरिएको थियो ।

सञ्चारकर्मी दीपज्योति थापाले सहजीकरण गरेको कार्यक्रममा कल्पना थापाले शाब्दिक स्वागत गरेकी थिइन् । सो अवसरमा मन्तब्य राख्दै उपसभामुख रानाले तीजलाई परम्परागतभन्दा पनि सिर्जनात्मक रुपमा मनाउनुपर्नेमा जोड दिँदै मिलापले गरेका कार्यको सहराना गरिन् ।

सम्मानितहरुको तर्फबाट दीपाश्री निरौला र ज्ञानु राणाले कृतज्ञता मन्तव्य राखेका थिए । उनीहरूले मिलापका कार्यको तारिफ गर्दै आउँदा दिनमा पनि यसले निरन्तरता पाओस् भन्ने शुभकामना दिएका थिए ।

विगत १४ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको मिलाप मासिकले नेपाली नारीको महान् पर्व तीजलाई उत्सवका रुपमा मनाउँदै उनीहरूले समाजमा पुर्याएको योगदानको कदरस्वरुप सम्मान गरेको कार्यक्रमका अध्यक्ष अधिकारीले बताइन् ।

सम्बन्धित खबर