काठमाडौं । सौन्दर्य प्रतियोगिताका आममापदण्डलाई चुनौति दिँदै मिस युनिभर्स नेपाल २०२३ को उपाधि जेन दीपिका ग्यारेटले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा सन् २०२२ की विजेता सोफिया भुजेललाई ताज लगाइदिइन् ।
प्लस साइज आकारकी दीपिकाले सौन्दर्य प्रतियोगिताका लागि चाहिने ‘स्ट्यान्डर्ड’ मापदण्डलाई चुनौति दिँदै उपाधि जितिन् । अमेरिकाबाट फर्किएकी उनी पछिल्लो समय काठमाडौंमा बसोबास गर्दै आएकी छन् । २२ वर्षिया उनी मानसिक स्वास्थ्य, शरिर सकारात्मकता र हर्मोनल स्वास्थ्यको पक्षमा आफ्ना धारणा राख्दै आएकी छन् ।गरिमा घिमिरे फस्ट रनरअप घोषित हुँदा बुद्धिसरा सुनार सेकेण्ड रनरअप भइन् । दुई विवाहित सुन्दरीहरु फाइनलमा पुगेका थिए । जसमा शिताष्मा पोखरेल तेस्रो र अभिलाशा लम्साल चौंथो रनरअप घोषित भए ।
सौरभ ज्योति, सुरक्षा पन्त, उपौल मजुमदार, उपाषना घिमिरे, आयुष कार्की श्रेष्ठ, रविराज कर्णिकार, संगीता पहाडी र नन्दिनी लेही थापा निर्णायकको भूमिकामा थिए । यसवर्षकी विजेता दीपिकाले आगामी नोभेम्बरमा एल साल्भाडोरमा हुने ७२ औं मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।