
जनकपुरधाम । कृष्ण जन्माष्टमीको मूर्ति विसर्जन गर्ने क्रममा शुक्रबार साँझ दुई पक्षबिच झडप भएपछि बढ्दै गएको तनाव नियन्त्रण गर्न सर्लाही सदरमुकाम मलंगवामा स्थानीय प्रशासनले शनिबार कर्फ्यु आदेश जारी गरेको छ।
कर्फ्यु शनिबार दिउँसो ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्म रहने स्थानीय प्रशासनले जनाएको छ।
कर्फ्यु पुरानो मलङवा नगर क्षेत्र (पूर्वमा झिम नदी-पश्चिम मुसैली नहर-दक्षिणमा नेपाल भरत सीमा क्षेत्र र उत्तरमा अस्थायी प्रहरी चौकी र बाबा पेट्रोल पम्प सम्म) लागू हुनेछ। प्रमुख जिल्ल अधिकारी ईन्द्रदेव यादवका अनुसार कर्फ्यु जारी गरिएको क्षेत्रमा आवतजावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न, उछृङ्खल क्रियाकलाप गर्न रोक लगाइएको छ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यु आदेश जारी गरिएको छ। सुरक्षा संवेदनशीलता हेरेर कर्फ्यु लगाएको प्रमुख जिल्ला अधिकारी यादवले बताए।
शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति विसर्जन गरेर फर्किने क्रममा मलंगवामा दुई समुदायबिच झडप र ढुंगामुढा भएको थियो। लगत्तै प्रहरीले १६ सेल अश्रुग्याँस र एक राउण्ड हवाई फायर गर्दै भीड तितरबितर पारेको थियो।
अबेर राति अवस्था सामान्य बने पनि शनिबार बिहानैबाट सदरमुकाम मलंगवामा टायर बालेर प्रदर्शन र ढुंगामुढा हुन थालेपछि स्थानीय प्रशासनले थप सुरक्षा बढाउँदै सर्वदलीय, सर्वपक्षीय भेला बोलाएर जातीय र धार्मिक सद्भाव कायम राख्न अपिल गरेको थियो। तर पनि प्रदर्शन र ढुंगामुढा नरोकिएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गर्नु परेको सर्लाही प्रहरी प्रमुख (एसपी) नरेशराज सुवेदीले जानकारी दिए।
प्रदर्शन र ढुंगामुढाका कारण मलंगवाका पसल तथा बजार बन्द छ। बिहानैदेखि मलंगवाबाट चल्ने साना तथा लामो दुरीका यातायातका साधन चल्न सकेका छैनन्।