
रुकुम पश्चिम । चौरजहारी नगरपालिका–१३ रातामाटाकी २२ वर्षीया सुत्केरी विनिता ओली विष्ट र सानीभेरी गाउँपालिका–१ जगल गाउँकी ६१ वर्षीया गङ्गी पुनको सर्पको टोकाइबाट मृत्यु भएको हो।
सुत्केरी २२ वर्षीया विष्टलाई मङ्गलबार दिउँसो बारीमा गाईवस्तुलाई घाँस काट्ने क्रममा सर्पले टोकेको थियो। सोही दिन राति विष्टले छोरीलाई जन्म दिएकी थिइन् तर सुत्केरी आमाको रक्तश्राव नरोकिएपछि उपचारका लागि चौरजहारी अस्पताल लगिएको थियो। सर्पको विष शरीरमा फैलिएको र रक्तश्रावका कारण आज बिहान मृत्यु भएको चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरीले बताए।
शिशुको पनि अवस्था गम्भीर रहेकाले रिफर गर्न लागिएको अस्पतालले जनाएको छ। शिशु जन्मने अवधि कात्तिक महिना भए पनि समय नपुग्दै शिशुको जन्म मङ्गलबार नै भएको थियो।
गङ्गी पुनलाई भने सर्पले भदौ ४ गते नै टोकेको थियो। सर्पले टोकेपछि पुनलाई चौरजारी अस्पताल हुँदै प्रादेशिक अस्पताल सुर्खेत पुर्याइएको थियो। अस्पतालबाट गाउँमै उपचार गर्ने भनेर घर परिवारले घर ल्याएको चार दिनपछि पुनको हिजो घरमै मृत्यु भएको वडाध्यक्ष टेकबहादुर पुनले बताए।