२०८१ फागुन १९, सोमवार , ११:५४:५६ बजे

Sajhamanch
'

ताप्लेजुङ गोल्डकप: झापाको रेडस्टार सेमिफाइनलमा

आइतवार, भदौ १७, २०८०

ताप्लेजुङ । पाहुना टोली भारत दार्जिलिङको युनाईटेड खर्साङ फुटबल क्लबलाई १–० ले स्तब्ध पार्दै डिफेण्डिङ च्याम्पियन झापा बिर्तामोडको रेडस्टार फुटबल क्लब जारी ताप्लेजुङ गोल्डकपको सेमिफाइनल पुग्ने चौथो टिम भएको छ।

यो जितसँगै भानुजन माविको खेल मैदानमा तत्कालीन पाथीभरा गोल्डकप जितेको रेडस्टार फुटबल क्लबले उपाधि दोहोर्‍याउने सम्भावना जीवित राखेको छ। गोल्डकपमा अब फाइनल यात्राका लागि रेडस्टारको भिडन्त रेडहर्ष फुटबल क्लब इलामसँग मङ्गलबार हुने छ।

दुई विदेशी खेलाडी ग्लोरी र अब्दुलका साथ मैदान छिरेको रेडस्टारले पहिलो हाफमै ग्लोरीको गोलबाट अग्रता लिएको थियो। रेडस्टारको पोष्टतर्फ फ्रि–किक प्रहार गरेका युनाईटेड खर्साङका कप्तान बिरेन प्रधानको प्रहार असफल बनाएर फर्किएको बललाई तीव्र गतिका ग्लोरीले आफ्नो नियन्त्रणमा राख्दै अगाडि बढाए र सिधै युनाईटेड खर्साङको पोष्टमा प्रहार गरे।

२९ औं मिनेटमा उनले गरेको प्रहारलाई खर्साङका गोलकिपर रुपक कोयाले बचाउन सकेनन् र पहिलो हाफ अघि रेडस्टार १–० को अग्रतामा रह्यो।

भानुजन माविको मैदानलाई नजिकबाट चिनेका रेडस्टारका कप्तान खमिरगिल्सन कन्दङ्वा र अनुभवी गोलकिपर देव लिम्बू दोस्रो हाफमा पनि युनाईटेड खर्साङका लागि भारी बनिरहे। दरिलो रक्षापंक्तिसँगै अनुभवी खेलाडीको साथ पाएको रेडस्टार विरुद्ध रहेको युनाईटेड खर्साङका गोलकिपर कोया खेल अवधिभर नै व्यस्त देखिन्थे।

पासको उच्च लय गुमेको र ‘थर्ड लाइनमा’ अलमिलनुको फाइदा लिदैं रेडस्टारले दोस्रो हाफको सुरुवाती चरणमा पनि खर्साङ विरुद्ध हाबी बन्यो। दोस्रो हाफको अन्त्यतिर खर्साङले खेलमा फर्कने प्रयास स्वरूप रेडस्टार विरुद्ध आक्रामक खेल खेलेपनि गोल गर्न सकेन। खेलको अन्त्यतिर रेडस्टारलाई निकै दबाबमा राखे पनि खर्साङले गोल फर्काउन नसक्दा पहिलो खेलबाटै खेलबाट बाहिरिएको छ।

फाइनल पुग्न सोमबार जुट विकास फुटबल क्लब ईटहरी, सुनसरी र पथरी–११ मोरङको टिम भिड्दै छन्। यो पहिलो सेमी फाइनल खेल हो। जुट विकास गृह टिम मानाभरा स्पोटिङ क्लबलाई र पथरी–११ मोरङ पाँचथरको फिदिम स्पोटिङ क्लबलाई हराउँदै सेमी फाइनल पुगेका हुन्। रेडहर्ष इलाम गोर्खा स्पोटिङ क्लब दमकलाई हराएर सेमी फाइनल पुगेको टोली हो। खेल बुधबार सकिने छ।

सम्बन्धित खबर