काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, मधेश प्रदेश समितिका आठै जिल्लामा आइतबार विस्तारित बैठक बस्दै छ। पार्टी विस्तार तथा सुदृढीकरण अभियानबारे निर्णय गर्न बैठक आह्वान गरिएको हो। भदौ ११ गतेको मधेस प्रदेश कार्यकारिणी समितिको बैठकले प्रदेशका सबै जिल्लामा भदौ १७ गते आइतबार विस्तारित बैठक राख्ने निर्णय गरेको थियो।
विस्तारित बैठकको सहजीकरणका लागि प्रदेश बैठकले प्रदेश कार्यकारिणी समितिका पदाधिकारीलाई जिम्मेवारी तोकेको छ। सप्तरीमा दिनेशकुमार यादव र शैलेशकुमार साह, सिराहामा रामसेवक यादव र रेणु यादव, धनुषामा ज्ञानेन्द्रकुमार यादव, अरुणकुमार देव र युसुफ अली, महोत्तरीमा निर्मलाकुमारी यादव र जितेन्द्रकुमार यादवले जिम्मेवारी पाएका छन्।
त्यस्तै सर्लाहीमा रामपृत पासवान र निराकुमारी साह, रौतहटमा रामबाबु कुमार यादव र पुनीत राम, बारामा बृजमोहन तिवारी र पर्सामा सुशीलकुमार यादवलाई तोकिएको छ। बैठकमा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेता, प्रदेश समितिका नेता, जिल्ला समितिका पदाधिकारी तथा सदस्य, पालिका समितिका पदाधिकारी, निर्वाचित जनप्रतिनिधि, भ्रातृ संगठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारीलाई उपस्थित हुन भनिएको छ।