
काठमाडौं । राष्ट्रिय महिला क्रिकेट टिमकी पूर्वकप्तान नीरा राजोपाध्याय बागमती प्रदेश क्रिकेट संघको महिला सदस्यमा निर्विरोध निर्वाचित भएकी छिन् ।
पूर्वकप्तान पारस खड्काको प्यानलबाट चुनावमा उठेकी उनी एक्लो महिला उम्मेद्वार भएका कारण निर्विरोध निर्वाचित भएकी हुन् ।
उनले सन् २०१० मा चीनको गोन्जाउमा भएको एसियन गेम्समा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको कप्तानको भूमिकामा थिइन् ।
सन् २०१२ मा लेभल २ कोचिङ कोर्स सकेकी नीराले त्यसयता यू–१९ प्रशिक्षकको रुमपा १ पटक काम गरेकी छिन् ।
उनले नवौं राष्ट्रिय खेलकुदमा बागमती प्रदेश महिला क्रिकेट टिमको लागि प्रशिक्षकको भूूमिका निर्वाह गरेकी थिइन् ।
लगातार महिला क्रिकेटको विभिन्न भूमिकामा काम गरिसकेकी नीरा राष्ट्रिय टिमको व्यवस्थापकको भूमिकामा काम गरिसकेकी छिन् ।
प्राय व्यवस्थापनमा रमाउने नीरा राजोपाध्यायले सबैको साथ र समर्थनले यहाँसम्म आइपुगेको अनलाइनखबरसँगको कुराकानीमा बताइन् ।
‘साथीहरुले मलाई विश्वास गरेर तपाईं पनि आउनुपर्छ भनेर मलाई यहाँसम्म ल्याउनुभयो । सबैले साथ दिएर जितेको पनि छु । निकै खुसी छु । आगामी दिनमा अझै जिम्मेवार भएर काम गर्नेछु’, नीराले भनिन् ।
नीरा निर्विरोध भए पनि अरु पदका लागि भने मतदान भइरहेको छ ।