२०८१ माघ १५, मङ्गलवार , १२:५५:१७ बजे

Sajhamanch
'

साफ यु–१६ जित्ने नेपालको लक्ष्य

मङ्गलवार, भदौ १२, २०८०

काठमाडौँ । कठिन समूहमा रहेको नेपालले पहिलो पटक यु–१६ साफ च्याम्पियनसिप जित्ने लक्ष्यसहित तयारी गरिरहेको छ।

आगामी शुक्रवारदेखि भुटानको थिम्पुमा साफ यु–१६ च्याम्पियनसिपको चौथो संस्करण सुरु हुँदैछ । यसअघिका विजेताद्वय भारत र बंगलादेशको समूहमा रहेको नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ। यो उमेर समूहमा नेपालको किशोर टोलीले अहिलेसम्म उपाधि जित्न सकेको छैन । सन् २०११ देखि शुरु भएको साफ यु–१६ च्याम्पियनसिपमा अहिलेसम्म तीन संस्करण सम्पन्न भइसकेको छ । यद्यपि, नेपालले अहिलेसम्म उपाधि जित्न भने सकेको छैन । यस पटक नेपाल यसअघिका विजेता द्वय भारत र बङ्गलादेशको समूह ‘ए’ मा छ।

नेपालले आइतबार बंगलादेशबिरुद्ध खेल्दै यस संस्करणको यु–१६ मा सुखद सुरुवात गर्ने लक्ष्यमा छ । नेपाली किशोर फुटबल टोलीका प्रशिक्षक रवीन्द्र सिलकारले छोटो समय भए पनि तयारी राम्रो भएको उल्लेख गर्दै पछिल्ला समय रणनीतिक कामहरू भइरहेको बताए । यसअघि धेरै जसो खेलाडीहरू एन्फा यु–१६ लिग खेलेर आएकाले तयारी अझै राम्रो भएको प्रशिक्षक सिलाकारको विश्वास छ।

यु–१६ च्याम्पियनसिपको नेपाल दुई पटकको आयोजक राष्ट्र हो । यद्यपि, नेपालले एक पटक पनि उपाधि जित्ने सकेको छैन । सन् २०११ को पहिलो संस्करणमा पाकिस्तानले उपाधि जितेको थियो । त्यसपछि भारतले २०१३ मा आयोजक नेपाललाई घरेलु भूमिमा हराउँदै उपाधि जितेको थियो । यस पटक नेपालले साफ यु–१६ को तयारीका लागि १४ दिनको प्रशिक्षण गरेको छ। अन्य पक्षहरूमा राम्रो तयारी भए पनि फिटनेसमा भने अझै केही समस्या देखिएको प्रशिक्षक सिलाकार बताउँछन्।

पछिल्लो संस्करण बङ्गलादेशमा सन् २०१५ मा भएको थियो । उक्त संस्करणमा पनि बङ्गलादेशले उपाधि जित्दा नेपाल भने सेमिफाइनलमा भारतसँग पराजित भएको थियो । अहिलेसम्म नेपालको यु–१६ उमेर समूहले साफको उपाधि जित्न सकेको छैन । यस पटक इतिहास बनाउने लक्ष्य किशोर टोलीले राखेको छ । प्रशिक्षक सिलाकारले उमेर समूहमा कुनै टोली बलियो र कोही कमजोर नहुने उल्लेख गर्दै मैदानमा जसले उत्कृष्ट दिन सक्यो त्यसले नतिजा दिने बताए।

नेपालको यु–१६ टोलीले साफकै तयारी गरिरहेको नेपालको यु–१९ को टोलीसँग आइतबार अभ्यास खेल पनि खेलेको थियो । यद्यपि, अपर्याप्त समय र सोही उमेर समूहका प्रतिद्वन्द्वी अभाव नेपालले थप अभ्यास खेल भने खेल्न पाएन । प्रशिक्षक सिलाकारले पनि पर्याप्त अभ्यास खेलको व्यवस्था हुँदा अझै राम्रो टोली बन्ने बताए।

भुटानमा हुने यो च्याम्पियनसिपका लागि प्रशिक्षक सिलाकारले गत भदौ ४ गते नै अन्तिम टोली घोषणा गरिसकेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा २३ खेलाडीले अभ्यास गर्दै आइरहेका छन् । उक्त टोलीका खेलाडी सुवास बमले पछिल्ला समय प्रायले एन्फा यु–१६ लिग खेलेकाले धेरै मद्दत मिलेको र तयारी पनि राम्रो भएकाले च्याम्पियनसिपको ट्रफी लिएर आउने विश्वास व्यक्त गरे।

मिडफिल्डर सुवासले १४ दिनको समयमा आफूहरूले राम्रो मेहनत गरेको त्यसको नतिजा पनि आउने बताए । आफ्नो समूहमा भारत र बङ्गलादेश बलियो टोली रहेको स्वीकार गर्दै उनीहरूको लागि पनि नेपाल कठिन प्रतिद्वन्द्वी बन्ने लक्ष्य रहेको उनको विश्वास छ । नेपाली यु–१६ किशोर टोलीको गोलकिपरमा विशेष बानिया, पेम्बा भोटे र भक्तबहादुर परियार, डिफेन्डरमा एकराज विश्वकर्मा, किशन थापा, अरविन्द कुमार धामी, भुवन कामी, प्रशान्त मोक्तान, निशान्तराज लावत, किशोर कुमार दनुवार, सरन एसके, मिडफिल्डरमा सुजल स्याङ्तान, पेम्बा तामाङ, गणेश पुलामी मगर, विनायक थारु, सुवास बम, लक्ष्मण थामी, राम थामी, दिलन लिम्बू र फरवार्डमा सन्तोष गोङ्बा, रोहित श्रेष्ठ, हिमेश माझी र दर्शन अधिकारी छन् ।